संखुवासभा- संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ। गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए। विस्थापितमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा हस्तान्तरण गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्तरूपमा विस्थापित ५५ परिवारलाई गोलाप्रथा गरेर जग्गा बाँडफाँट गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।
पहिरोबाट विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए। खाँदबारीका उपप्रमुखको संयोजकत्वमा गठन भएको जग्गा व्यवस्थापन समितिले निःशुल्क तथा सःशुल्क जग्गा दिन चाहनेबाट विवरण संकलन गरी सबैभन्दा राम्रो मानिएको खाँदबारी–७ भैरेडाँडाको जग्गा छनोट गरेको थियो।
समितिले खाँदबारी नगरपालिका–७ भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा १ करोड ३० लाख रुपैयाँमा खरिद गरेको हो। भूगर्वविद् तथा प्राविधिकको प्रतिवेदनपछि जिल्ला विपद् व्यवस्थापन समितिले जग्गा खरिद गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ।
जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणका लागि कित्ताकाट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो। जग्गा बाँडफाँटसँगै पहिलो चरणमा अस्थायी टहरा बनाउन ५० हजार र घर बनाउन ३ किस्तामा ५ लाख रुपैयाँ दिने व्यवस्था कार्यविधिमा रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए। पहिरो विस्थापित २५ परिवारलाई सिलिचोङ गाउँपालिकाको चित्रेगाउँमा र चेप्चेवाका १२ परिवारलाई बखल्टुममा स्थानान्तरण गरिएको छ। चित्रेमा ५१ दशमलव ५ रोपनी ७० लाख र बखल्टुममा १७ दशमलव ५ रोपनी ३४ लाखमा खरिद गरी पहिरो विस्थापितका नाममा पास गरिएको छ। जग्गा चाँडै बाँडफाँट गरिने सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए।
जिल्ला विपद् व्यवस्थापन समितिले गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया अगाडि बढेको थियो। संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरेको हो।