बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिन्धुपाल्चोकका दुर्गम ठाउँका महिला हाटबजार सञ्चालनमा सक्रिय

सिन्धुपाल्चोकका दुर्गम ठाउँका महिला हाटबजार सञ्चालनमा सक्रिय

स्थानीय उत्पादनलाई हाटबजारमा बिक्री गरी मनग्य आम्दानी हुन थालेपछि उनीहरू उत्साहित छन् भने आत्मनिर्भर पनि बन्दै गएका छन्।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

सिन्धुपाल्चोक- तामाङ समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोककै दुर्गम ठाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका महिला हाटबजार सञ्चालन गर्न सक्रिय भएका छन्। स्थानीय उत्पादनलाई हाटबजारमा बिक्री गरी मनग्य आम्दानी हुन थालेपछि उनीहरू उत्साहित छन् भने आत्मनिर्भर पनि बन्दै गएका छन्।    

National life

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने नेपालको घुम्नलायक एक सय गन्तव्यभित्र पर्ने पाँचपोखरीसम्म पुग्ने बाटोमै पर्छ दुर्गम गाउँ भोताङको यार्साबस्ती। मुख्य बाटोको छेउमै बनाइएको फलामे ट्रस्टको घरमा यहाँका महिला प्रत्येक शनिबार हाटबजार चलाउँछन्। स्थानीयलगायत वरपरका व्यवसायी आवश्यक सामग्री खरिद गर्न हाटबजारसम्म आउने गरेका छन्।    

नौ सयभन्दा बढी घर रहेको यो बस्तीका महिला काउली, बन्दा, खुर्सानी, गोलभेँडा तथा जङ्गलको निउरोजस्ता तरकारी, फलफूललगायत आफ्ना घरेलु उत्पादन बिक्री गर्न हाटबजारसम्म आउने गरेको स्थानीय कार्चेन तामाङ बताउँछन्। मकै कोदो जस्ता परम्परागत खेती भन्दा तरकारी खेति गर्दा आर्थिक उपार्जनमा सहज भएको र घर खर्चका लागि एक सयमात्र कमाउँदा पनि खुसी लाग्नुका साथै हाटबजारमा आउन निकै रमाइलो लाग्ने अर्का स्थानीय माइली तामाङ बताउँछिन्।    

परम्परागत खेतीमात्रै गर्दै आएका भोताङवासीले हाटबजार चलाएपछि गाउँमा आवश्यक हुने सबै प्रकारका तरकारीलगायतको उत्पादन थालेका छन्। वर्षौँ बाँझो रहेको जमिनमा महिलाले फरक–फरक उत्पादन गर्ने गर्छन् भने आफूसँग नभएको किन्ने र भएको सामग्री बेच्ने बानी बसालेका छन्। स्थानीय महिलाको सक्रियतापछि सञ्चालित हाटबजारले आर्थिक उन्नतिमा समेत टेवा पुगेको हाटबजार सञ्चालनमा सक्रिय स्थानीय कमला तामाङले बताए। केही उत्पादन गर्ने बानी नभएको तर अहिले उत्पादन गर्दा धरै चिज फलेको उनके भनाइ छ।    

स्थानीयको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यले हाटबजार सञ्चालन गर्न सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलगायत गाउँपालिकाले पनि सहयोग गरेको छ। गाउँमा उत्पादित वस्तुलाई बिक्री गर्ने परम्परा बसेको छ। त्यसले गर्दा दुर्गम ठाउँका महिलालाई उद्यमशील बनाएको छ भने अन्य ठाउँका मानिसलाई पनि अभिप्रेरित गरेको पाँचपोखरी थाङपाल–३ का अध्यक्ष ङिमाछिरिङ तामाङ बताउँछन्। स्थानीय उत्पादनको बजारीकरणमा वडाले पनि सहयोग गरेको उनको भनाइ छ।    

Shivam cement

दुर्गम ठाउँमा हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा महिला आर्थिकरूपले सवल र आत्मनिर्भर मात्रै होइन उनीहरुलाई मेहेनती र उद्यमशील बनाएको छ। 


प्रकाशित: Aug 26, 2022| 06:30 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्