काठमाडौं- देशभरि समानान्तर कमिटी बनाउने चेतावनी माधव नेपालले दिएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्।
पार्टी एकीकरणमा आफ्ना पक्षका नेता-कार्यकर्तालाई नसमेटिए त्यसो गर्नु बाध्यता हुने नेपालको भनाइ सार्वजनिक भएपछि प्रचण्डको तनाव बढेको हो। आफू पक्षका नेता-कार्यकर्तालाई एकीकरण प्रक्रियामा पक्षपात गरेर पाखा लगाए देशव्यापी समानान्तर कमिटी गठन गर्ने नेपालले चेतावनी दिएका थिए।
स्रोतका अनुसार सोही भनाइ सार्वजनिक भएपछि प्रचण्डले नेपाललाई मंगलबार बिहान टेलिफोन गरेर यसबारे मौखिक जानकारी लिएका हुन्।
प्रचण्ड आफैंले नेपाललाई फोन गरेर त्यस्तो कुरा बाहिर आएको बताउँदै जिज्ञासा राखेका थिए। आफूपक्षीय नेता÷कार्यकर्तालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पाखा लगाउन खोजेको फोन संवादमा नेपालले स्पष्ट पारेका छन्।
आफूले सोही विषयमा आपत्ति जनाएको जवाफ नेपालले प्रचण्डलाई दिएका थिए। नेपालले आफूले समानान्तर कमिटी बनाउने नबोलेको बताउँदै प्रचण्डलाई आश्वस्त पारेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४