काठमाडौं– नेपालले भारत सरकारलाई गहुँ आयातमाथिको प्रतिबन्ध खुलाउन आग्रह गर्दै पत्र पठाएको छ। नेपाल मैदा उद्योग संघको प्रतिनिधिमण्डलसँगको भेटमा वाणिज्य सचिव गणेशप्रसाद पाण्डेले यस्तो जानकारी दिएका हुन्।
संघ अध्यक्ष कुमुद दुगड नेतृत्वको प्रतिनिधिमण्डलले वाणिज्य सचिव पाण्डेलाई भेटेर समस्याबारे ध्यानाकर्षण गराएको थियो। भारतले ३० वैशाख २०७९ देखि नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। सोही कारण नेपालका मैदा उद्योग प्रभावित भएका छन्।
सचिव पाण्डेले स्वदेशी उद्योग संरक्षण गर्न सरकारको तर्फबाट गहुँ आयात प्रक्रिया अगाडि बढिसकेको र बुधबारै सम्बन्धित निकायमा पत्र पठाइएको बताए। अबको ३ साताभित्र नेपालमा भारतबाट गहुँ आयात हुन सक्ने भएकाले स्वदेशी मैदा उद्योग सञ्चालनको वातावरण बन्ने अध्यक्ष दुगडले जानकारी दिए।
चालू आर्थिक वर्षका लागि लगभग १० लाख टन गहुँ आवश्यक पर्ने हुँदा घरेलु उत्पादनले मात्र नेपालको मागलाई धान्न नसक्ने संघले बताएको छ। ‘३.५ लाख टन गहुँ आन्तरिक उत्पादनबाट परिपूर्ति हुन्छ भने बाँकी गहुँ आयात गर्नुपर्ने अवस्था छ,’ दुगडले भने। हाल नेपालमा ३६ मैदा मिल सञ्चालनमा छन्।