जनकपुरधाम- प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा विरोधस्थलहरु तोकिएको छ। यसअघि आफूखुशी नगर क्षेत्रभित्र प्रदर्शन गर्ने छुट रहेको जनकपुरमा अब दुई स्थानमामात्र विरोध प्रदर्शन गर्न पाइने भएको छ।
जनकपुर उपमहानगरपालिका-९ स्थित ‘रंगभूमि मैदान’ र वडा नम्बर ४ स्थित ‘तिरहुतिया गाछी’ लाई विरोधस्थल तोकिएको छ। यी दुई स्थानबाहेक जनकपुरभित्र अन्य स्थानमा विरोध प्रदर्शन गर्न निषेध गरिएको छ।
विरोधस्थलको रुपमा तोकिएको यी दुई स्थान खुल्ला चौर हुन्। यद्यपि विरोधस्थलसम्बन्धी निर्णय २८ अषाढमै भएपनि कार्यान्वयनमा आउन सकेको छैन् । विरोधस्थल तोकिएको एक महिनाभन्दा बढी भइसक्दा पनि जनकपुरको अन्य स्थानहरुमासमेत विरोध प्रदर्शन हुँदै आएको छ।
२८ अषाढमा तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, धनुषाका प्रहरी प्रहरी प्रमुख गोविन्द थपलिया, राष्ट्रिय अनुसन्धान विभाग कार्यालयका उपरीक्षक संजयकुमार यादव, उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत यादव र जिल्ला समन्वय समिति अधिकारी इन्दिरेश दहाललगायतका व्यक्तिहरुको उपस्थितिमा बसेको बैठकले विरोधस्थल तोक्ने निर्णय गरेको हो।
गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्यक्रम २०७४ को दफा ३० ले स्थानीय तह, सुरक्षा निकायका विभिन्न स्थानीय इकाइबाट प्राप्त सुझावको आधारमा विरोध प्रदर्शन गर्न निश्चित स्थान तोक्न भनेको छ।
संघीय सरकारको गृह मन्त्रालयले विरोध प्रदर्शनस्थल तोकेर पठाउन पत्राचार गरेपछि जिल्ला सुरक्षा समितिको बैठकबाट यसबारे निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४