काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ६० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ। मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्बद्ध निकायबाट आव २०७८÷०७९ मा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्दै उक्त विवरण सार्वजनिक गरेका हुन्।
मन्त्रालय र अन्तर्गतका निकायबाट आव २०७८/७९ मा कुल राजस्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपैयाँ संकलन भएको उनले बताए। नेपाल दूरसञ्चार कम्पनीको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको उनको भनाइ छ।
मन्त्रालयले आव २०७८/७९ मा कुल बजेटको ८०. ६१ प्रतिशत खर्च गरेको छ। मन्त्री कार्कीले सूचना तथा प्रशारण विभागबाट उपलब्ध गराइने कार्य पूर्ण अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको जानकारी दिए।
उनले नागरिक एपको स्तरोन्नति गर्दै ४५ सेवालाई यस एपमा आबद्ध गरिएको बताए। ‘चलचित्र क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैंक, सातै प्रदेशमा छायांकन स्थल र विकासलगायतका कार्यक्रमलाई प्राथमिकता दिएका छौं’, उनले भने।
वरिष्ठ चलचित्र कलाकारको सम्मानका लागि चलचित्रकर्मी परिचयपत्र तथा बिमा कार्यक्रम सुरु गरिएको मन्त्रालयले बताएको छ। मन्त्री कार्कीले सुरक्षण मुद्रणका लागि आवश्यक उपकरणसहितको मेसिन खरिद गरी जडान गरिएको र यसै आर्थिक वर्षबाट मुद्रण कार्य थालिने सुनाए।
७३५ स्थानीय तहमा फोरजी सेवा विस्तार भइसकेको र हालसम्म १२ हजार २२४ किमि अप्टिकल फाइबर विस्तार गरिएको उनले जानकारी दिए। कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको उनले विवरण प्रस्तुत गरे।