शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चीनमा फसेको हिमालयन र बीओकेको डेढ अर्ब एक दशकपछि फिर्ता

चीनमा फसेको हिमालयन र बीओकेको डेढ अर्ब एक दशकपछि फिर्ता

हिमालयन र बीओकेले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीबापत राखेको रकम फिर्ता पाएका हुन्।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– एक दशकपछि नेपालका दुई बैंक हिमालयन र बैंक अफ काठमाण्डू (बीओके)को चीनमा फसेको १ अर्ब ६९ करोड रुपैयाँ फिर्ता आएको छ। हिमालयन बैंक र बीओकेले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीबापतको सो रकम फिर्ता पाएका हुन्।

काउन्टर ग्यारेन्टी बसेको एक दशकपछि दुवै बैंकको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको खातामा चिनियाँ रेल्वे ब्यूरोबाट पैसा जम्मा भएको हिमालयन बैंकले जनाएको छ। बैंकका सीईओ अशोकशमशेर राणाले बैंकको खातामा पैसा फिर्ता आएको बताए।

उनका अनुसार हिमालयन बैंकको ६६ लाख अमेरिकी डलर अर्थात् मंगलबारको मूल्यमा ८४ करोड १५ लाख रुपैयाँ बराबर काउन्टर ग्यारेन्टी बसेको थियो। 

त्यस्तै, बीओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर अर्थात् ८४ करोड ८६ लाख ८८ हजार ७७५ रुपैयाँ तथा १४ लाख ११ हजार ४५३ युरो अर्थात् १८ करोड ८७ हजार २८८ रुपैयाँ बराबरको काउन्टर ग्यारेन्टी बसेर मेलम्ची खानेपानी आयोजनालाई दिएको थियो।

तत्कालीन समय मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्न चीनको रेल्वे कम्पनीले ठेक्का पाएको थियो। चाइना रेल्वेले ठेक्का पाएका बेलाको ग्यारेन्टी चीनको चाइना कन्स्ट्रक्सन बैंकले दिएको थियो।

त्यसको काउन्टर ग्यारेन्टीमा नेपालका हिमालयन बैंक र बीओके बसेका थिए। तर सम्झौताअनुसार काम गर्न नसकेपछि २०६९ मा मेलम्ची खानेपानी आयोजनाले चाइना रेल्वेसँग ठेक्का सम्झौता तोडेको थियो। सम्झौता तोडेपछि चिनियाँ कम्पनीले दुवै बैंकलाई काउन्टर ग्यारेन्टीबापतको पैसा दिइएन।

सोही कारण दुवै बैंक चीनमा मुद्दा हालेका थिए। पहिलो पटक चीनको तल्लो अदालतको इजलासमा मुद्दा हारेका दुवै बैंकले पुनः उच्च अदालतमा मुद्दा दायर गरेका थिए। गत साता सुनुवाइ हुँदा मुद्दा जितेका थिए।

काउन्टर ग्यारेन्टी बसेका दुवै बैंकविरुद्ध मेलम्ची खानेपानी आयोजनाले मुद्दा हालेको थियो। नेपालमा मुद्दा परेसँगै राष्ट्र बैंकले काउन्टर ग्यारेन्टी बसेर आयोजनालाई तिनुपर्ने बराबरको रकम ‘एअरमार्क’गरेर राखेको थियो। पछि अदालतको आदेशअनुसार मेलम्ची खानेपानी आयोजनालाई हिमालयन र बीओकेले रकम भुक्तानी गरेको थिए।

सोही कारण दुवै बैंकको नाफा कमी आएर लाभांश पनि कम बाँडिएको थियो। रकम फिर्ता आएपछि भने सेयरधनीले पाउने लाभांश बढ्ने देखिएको छ। 

प्रकाशित: Aug 23, 2022| 16:56 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्