काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयभित्रका सहसचिवको जिम्मेवारीमा व्यापक हेरफेर गरेका छन्। शर्माले ठूला करदाता कार्यालय प्रमुख कर प्रशासकको जिम्मेवारी राजेश्वर ज्ञवाली दिएका छन्। उनी मन्त्रालयअन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख थिए।
ठूला करदाता कार्यालयका शिवलाल तिवारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पु¥याइएको छ। तिवारी ठूला करदाता कार्यालय गत ६ महिना पूरा भएको थिएन।
मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलालाई मध्यमस्तरीय कर कार्यालय पठाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईको पनि सरुवा भएको छ। भट्टराईलाई भन्सार विभाग तानिएको छ।
महालेखा नियन्त्रकको कार्यालयका नवराज ढुंगानालाई वीरगञ्ज भन्सार कार्यालयको जिम्मेवारी दिइएको छ। वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई त्रिभुवन भन्सारमा ल्याइएको छ।
भन्सार विभागका आनन्द काफ्लेको पनि सरुवा गरिएको छ। मध्यमस्तरीय कर कार्यालयका प्रमुख शम्भु मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ।