बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिंगारियो लुम्बिनी: श्रीलंका र म्यानमारका राष्ट्रपतिको भ्रमणले के फाइदा ?

सिंगारियो लुम्बिनी: श्रीलंका र म्यानमारका राष्ट्रपतिको भ्रमणले के फाइदा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लुम्बिनी- बिमस्टेक शिखर बैठकमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्त र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी भ्रमणमा आउने भएका छन्। 

उनीहरू दुवैले मायादेवी मन्दिरमा पुजा गर्ने र आ-आफ्ना देशका सरकारले लुम्बिनी पवित्र उद्यानभित्र निर्माण गरेका विहारमा पुजा र ध्यान गर्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ। राष्ट्रपतिद्‍वयको भ्रमणबाट लुम्बिनी तथा नेपालमै पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ। 

म्यानमारका राष्ट्रपति १३ भदौ बिहान ९ बजे लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुजाआजा गर्ने गरी हेलिकोप्टरमार्फत आउँदैछन्। राष्ट्रपति मिन्तलाई लुम्बिनीमा पर्यटन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारी, प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल, पर्यटन मन्त्री लीला गिरीले स्वागत गर्ने कार्यक्रम छ। यस्तै, १६ भदौ श्रीलंकाका राष्ट्रपति सिरिसेना पनि हेलिकोप्टरमार्फत लुम्बिनी आउने कार्यक्रम छ। उनलाई पनि पर्यटन मन्त्री अधिकारी, प्रदेशका मुख्यमन्त्री, पर्यटन मन्त्रीलगायतले स्वागत गर्नेछन्।



दुवै देशका राष्ट्रप्रमुखहरूको राजकीय भ्रमणले लुम्बिनीको पर्यटनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मैत्रेय)को भनाइ छ। उनले भने, ‘उहाँहरूको राजकीय भ्रमणले लुम्बिनीमा म्यानमार र श्रीलंकाका पर्यटकको संख्या झनै बढ्नेछ।’  

गत वर्षको तथ्यांकअनुसार लुम्बिनी भ्रमण गर्ने सबैभन्दा धेरै पर्यटकमा श्रीलंकाली छन्। सन् २०१७ मा ४८ हजार पाँच सय २८ जना श्रीलंकालीले लुम्बिनीको भ्रमण गरेका थिए। श्रीलंकापछि थाइल्यान्डका २७ हजार ६ सय तीन जनाले लुम्बिनी भ्रमण गरेका थिए।

म्यानमारका २१ ह्जार पाँच सय ३१ जनाले लुम्बिनीको भ्रमण गरेका थिए। म्यानमारका पर्यटक लुम्बिनी भ्रमणमा आउनेमा संख्यात्मक हिसाबले तेस्रो स्थानमा देखिएका छन्। म्यानमारपछि चिनियाँहरू धेरै लुम्बिनी आएको देखिन्छ। गत वर्ष १५ हजार सात सय ७० जना चिनियाँले लुम्बिनी भ्रमण गरेका थिए। ०७२ सालमा संस्कृति तथा पर्यटन मन्त्रालयले गठन गरेको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रबर्द्धन योजना समितिले दिएको प्रतिवेदनले पनि लुम्बिनी भ्रमणमा आउने पर्यटकको आकलन गरेको छ। रामचन्द्र सेढाई, प्रा डा गितु गिरीसहित सात सदस्यीय उक्त समितिले लुम्बिनी भ्रमणमा आउने पर्यटकको सम्भावित तथ्यांकलाई सार्वजनिकसमेत गरेको थियो। प्रतिवेदनमा श्रीलंका, थाइल्यान्ड र म्यान्मारका बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ।



लुम्बिनी क्षेत्रको भ्रमणमा आउने पर्यटकको सम्भावित तथ्यांक
 
 पर्यटकको प्रकार २०१९ २०२२ २०२५
तेस्रो मुलुक  २९६६४६ ६९६००० ९९६७००
भारतीय २३०४४५ ७२०००० १०,११०००
स्वदेशी ५७३५२९ १०६५१३३ १९७८११८

स्रोत: लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रबर्द्धन योजना-२०७२

लुम्बिनी भ्रमणमा आउने अधिकांशको उद्देश्य मनोरञ्जन हुने गरेको पाइएको छ। राष्ट्रपतिद्वय मिन्त र सिरिसेना भने आध्यात्मिक उद्देश्यले लुम्बिनी आउन थालेका हुन्। 

लुम्बिनीमा श्रीलंका सरकारले बनाएको गेस्ट हाउस र विहार छ। यसैगरी, म्यानमार सरकारले निर्माण गरेको विहार पनि छ। विदेशी राष्ट्रप्रमुख लुम्बिनी आउने भएपछि विकास कोषले रातदिन लगाएर पदमार्गको दायाँबायाँ झण्डा राख्ने र सरसफाइ गर्ने काम गरिरहेको छ। 

विदेशी राष्ट्रप्रमुखको सुरक्षालाई विशेष ध्यान दिँदै लुम्बिनीमा थप उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी चारै तहको सुरक्षा प्रणालीमार्फत लुम्बिनी क्षेत्रमा उच्च सतर्कता अपनाइएको डीआर्इजी शेरबहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।