मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चार्जिङ स्टेसन बनाउन विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच सम्झौता

चार्जिङ स्टेसन बनाउन विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच सम्झौता

प्रहरी प्रधान कार्यालय नक्सालमा एक कार्यक्रम आयोजना गर्दै प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- नेपाल विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्‍चालन सम्बन्धी सम्झौता भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा एक कार्यक्रम आयोजना गर्दै प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

National life

प्राधिकरणले विद्युतीय सवारीसाधन प्रबर्द्धन गर्नको लागि स्थापना गर्ने भनिएका २५ चार्जिङ स्टेसनहरु सञ्चालनमा ल्याउन थालेको हो। सोही अनुसार प्रहरी कल्याण कोषद्वारा हाल सञ्चालित ४ वटा पेट्रोल पम्पसहित अन्य उपयुक्त स्थानहरुमा चार्जिङ स्टेसनहरु सञ्चालनमा ल्याउन लागिएको हो। चार्जिङ स्टेसन दीर्घकालीनरुपमा प्रहरी कल्याण कोष मातहत सञ्चालन हुने छन्।

प्रहरीसँग भएको एमओयू अनुसार, प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्ने छ। उपकरणहरुको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ। प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउने छ र निर्माण भएपछि चार्जिङ स्टेसनको सञ्‍चालन तथा सुरक्षा गर्ने छ।

चार्जिङ स्टेसन सञ्चालन गर्दा प्राधिकरणले समयानुकूल निर्धारण गरेको दरमा सर्वसाधारणले समेत सर्वसुलभ रुपमा उपयोग गर्न पाउने छन्। सवारी साधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले संकलन गर्ने छ। विद्युत वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत महसुल दरको शुल्कमा हुने कूल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रुपमा प्रहरीको कल्याण महाशाखाले पाउने छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले विद्युतीय सवारी साधनको प्रयोग गरी मुलुकभित्र उत्पादित विद्युत खपतका लागि चार्जिङ स्टेसन स्थापनाको एमओयू हुनु ऐतिहासिक अवसर भएको बताए।

Shivam cement

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न र पेट्रोलियम पदार्थको खपत घटाउनका लागि थप २५ स्थानमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेसन स्थापना गर्न एमओयू भएकोमा खुसि व्यक्त गरे। 

‘चार्जिङ स्टेसनका उपकरण तथा पूर्वाधार निर्माणका लागि करिब एक करोड रुपैयाँ लाग्छ, विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत महसुलमा पनि विशेष सहुलित दर औसतमा प्रतियुनिट करिब ५ रुपैयाँमा तोकिएको छ’, उनले भने। ‘पेट्रोलियम पदार्थको प्रयोग गरी गुड्ने गाडीको प्रति किलोमिटर खर्च १५-२० रुपैयाँ पर्छ भने विद्युतबाट चल्ने गाडीको धेरै सस्तो प्रति किलोमिटर करिब ६० पैसा देखि १ रुपैयाँ मात्र पर्छ।’

प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न देशैभरी ५१ स्थानमा छिट्टो चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिने छ। चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ। ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ। सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित: Aug 22, 2022| 18:42 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्