काठमाडौं- नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा नेपाल–बेलायतबीच हस्ताक्षर भएको छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाली जनशक्तिलाई बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने विश्वास लिइएको छ। त्यसरी स्वास्थ्यसम्बन्धी कामका लागि बेलायत जाने नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुनेछ।
बेलायत पठाइने नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी मापदण्डका विषयमा छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
बेलायत जाने स्वास्थ्यकर्मीले एक रूपैयाँ पनि खर्च गर्नु नपर्ने मन्त्रालयको दाबी छ। स्वास्थ्यकर्मीहरूको भिसा, टिकट तथा भर्ना प्रक्रियाका लागि आवश्यक शुल्क बेलायत सरकारले नै व्यहोर्ने बताइएको छ। वैदेशिक रोजगारका लागि सरकारी–सरकारी (जिटुजी) संयन्त्रमार्फत शून्य लागतमा नेपाली पठाउन लागिएको हो। नेपालबाट १० हजार नर्स पठाउन सकिने मन्त्रालयको भनाइ छ।
यसरी बेलायत जान चाहनेहरूले अंग्रेजी भाषा परीक्षा (आइइएलटिएस)मा कम्तीमा ७ स्कोर ल्याउनुपर्ने उल्लेख छ। लिखितमा कम्तीमा ६.५ स्कोर ल्याउनुपर्ने बताइएको छ। रोजगारीका लागि बेलायत पुगेका नर्सले पाँच वर्षपछि नेपाल फर्किनैपर्नेछ।
यी हुन् सम्झौताका विषय
१. स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने।
२. नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन.एच.एस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने।
३. विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एन्ड सेफगार्ड लिस्ट-२००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने।
४. नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहँदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने।
५. परीक्षणका रूपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने।
६. नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने।
७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ति प्रक्रियाको मूल्यांकन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने।
८. समझदारी पत्र, नियुक्ति प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेबसाइट मा उपलब्ध हुने तथा थप जानकारीका लागि uknursing@moless.gov.np मा इमेल गर्न सकिने।