काठमडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले आठ महिने शिशुको निर्मम हत्या भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइड बडी जहाजमाथि छानविन थालिएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
आजको नागरिक दैनिकले आमाको काखबाट अपहरित आठ महिने शिशुको हत्या शीर्षकमा मुख्य समाचार छापेको छ । महोत्तरीको औरही नगरपालिका १ का सन्तोष चौधरी सोनालीको आइबार साँझ अपहरण पछि हत्या भएको हो । आमा इन्द्रेश चौधरीको काखमा रहेकी सोनालीलाई खेलाउने बाहनामा अपरिचित एक युवकले अपहरण गरि हत्या गरेको नागरिकले लेखेको छ ।
यसैविषयलाई अन्नपूर्णले पनि महत्वका साथ प्रकाशित गरेको छ । उसले नाबालिकाको निर्मम हत्या शीर्षकमा खबर लेखेको छ ।
आजको अन्नपूर्णले वाइड बडी छानबिनमा शीर्षमा मुख्य समाचार छापेको छ । समाचारमा जनाइए अनुसार नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइड बडी जहाज खरिद प्रकरणमा देखिएका अनियमितता बारे छानबिन थालेको छ । पर्यटन मन्त्रालयको हवाई उद्योग व्यबस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइ छानबिन थालिएको समाचारमा उल्लेख छ ।
यस्तै अन्नपूर्णले विदेशी लगानीमा सञ्चालित उद्योगप्रति सरकारले कडाइ गरेको खबर पनि प्राथमिकताका साथ छापेको छ उद्योग धन्दा गर्ने उद्देश्य भएका विदेशी लगानीका कम्पनीले धर्म प्रचार गरेको पाइए पछि सरकारले निगरानी बढाएको अन्नपूर्णले लेखेको छ।
भ्रष्टाचारविरुद्ध कठोर बन्छु भनि प्रधानमन्त्रीले दिएको अभिब्यक्तिलाई एङ्कर न्युज बनाएको आजको कान्तिपुर दैनिकले पप्पुका पुल धराप शीर्षकमा मुख्य समाचार छापेको छ । उनले ठेक्का लिएका पुल र रकमको फिहरिस्त सार्वजनिक गर्दै कान्तिपुरले पप्पुले अधिकांश पुललाई बीचमै अलपात्र पार्ने गरेको उल्लेख गरेको छ । यसका सञ्चालक हरिनारायण रौनियारलगायतका यस्ता ठेकेदारलाई कारबाही गर्न सरकार जुर्मुराए पनि उनलाई प्रदेश २ सरकार र संघीय समाजवादी फोरमबाट साथ पाएको समाचारमा जनाइएको छ।
आजको नयाँ पत्रिकाले भने बिमस्टेक सम्मेलनमा १७ हजार सुरक्षाकर्मी परिचालन हुने खबरलाई प्राथमिकतामा पारेको छ । सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकाय परिचालित हुने समाचारमा जनाइएको छ । नयाँ पत्रिकाले निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले एक युवालाई गुमनाम बनाएर १ महिना थुनेको खबर छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४