काठमाडौं- नेपाली कांग्रेसको तर्फबाट विजयी भएका नगरप्रमुख र उपप्रमुखहरूले आफ्नो काममा विरोधी दलभन्दा आफ्नै पार्टीबाट चुनौती बेहोर्नुपरेको गुनासो गरेका छन्।
कांग्रेस केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि एक दिने प्रशिक्षण कार्यक्रममा उनीहरूले नगरका प्रमुख र उपप्रमुखको काममा विपक्षी दलले विरोध र अवरोध नगरे पनि कांग्रेसकै नेताबाट समस्या बेहोर्नुपरेको गुनासो गरेका हुन्।
इनरुवा नगरपालिका प्रमुख राजन मेहताले मेयरको टिकट माग्दैमा आधा ज्यान गएको भन्दै आजसम्म कांग्रेसबाट जितेका नगरका मेयर र उपमेयरले के कस्तो काम गरे र उनीहरूको समस्या कस्तो छ भनेर पार्टीले अध्ययनसमेत नगरेकोप्रति आक्रोश व्यक्त गरे।
‘हामीलाई स्थानीय सरकारको प्रमुख भनेर सम्बोधन गरे पनि कांग्रेसकै सरकार हुँदा नगरप्रमुखको मर्यादाक्रम १५ पटक परिवर्तन गर्दा प्रमुख जिल्ला अधिकारीभन्दा धेरै तल हामीलाई राखिएको छ,’ मेयर मेहताले भने, ‘हामीलाई विपक्षी दलले कुनै विरोध र अवरोध नगरे पनि कांग्रेसकै टिकट नपाएका साथीबाट बढी विरोधको सामना गर्नुपरेको छ।’
मेहताले कांग्रेसकै साथीहरूबाट भ्रष्टाचारको आरोप खेप्नु परे पनि विपक्षीले आलोचना गर्ने कुनै मौका नदिएको उनले दाबी गरे।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विगतमा जस्तै मेयरको टिकट पाउन सुमेरु पर्वत घुमेजस्तै नेताको घर धाउने प्रवृत्ति अन्त्य नभएसम्म कांग्रेसले आगामी चार वर्षपछि पनि सफलता नपाउने चेतावनी दिए। ‘हामीलाई देखाएर हाम्रो टाउको र थाप्लोमा तातोपानी खन्याएर नेतृत्वले पन्छिन पाउँदैन,’ गौलीले भने, ‘पार्टी नेतृत्वले सबै काम नभएका केन्द्रीय सदस्यलाई गाउँ नपठाई कांग्रेस बलियो हुने सपना नदेख्नूस्।’
भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरका ६९ जना जनप्रतिनिधिले बहिष्कार गरेको नगर परिषद्को अतिथि भएर कांग्रेसकै प्रदेश सांसद उपस्थित भएर आफूहरूको अपमान गरेको गुनासो गरिन्। उनले नेतृत्वले नगर प्रतिनिधिसँग समन्वय नगरेको बताइन्।
विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले निर्वाचन भएको १६ महिनापछि स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला बोलाएर पनि पार्टीले एक मिनटमा बोल्ने समय छुट्याएर अपमान गरेको गुनासो गरिन्। उनले कतिपय नगरका मेयर उपमेयरबीचको विवाद समाधान गर्न पार्टीले भूमिका नखेलेको गुनासो गरिन्।
गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले कांग्रेसले अनुशासन समिति गठन गरी अनुशासन उल्लंघन गर्नेलाई कारवाही नगर्दा बेथिति बढेको गुनासो गरे। सोलुखुम्बु नगरपालिकाका प्रमुख नाम्गले जाङबु शेर्पाले कांग्रेसका मेयरहरूले टिकट पाउन महाभारत जितेजस्तै भएको र टिकट मतदानको एक साताअघि मात्र दिएकाले मत माग्न नपाएको गुनासो गरे।
‘निर्वाचन जितेको १६ महिनासम्म मेयर र उपमेयरलाई नसम्झिएको कांग्रेसले अहिले आएर एक मिनट समय दिनु लाजमर्दो भयो,’ शेर्पाले भने, ‘हामीले पार्टीसँग समन्वय गर्दा सोलुमा कोसँग गर्ने जहाँ दुई वटा कार्यसमिति छ।’
बाजुराको बडीमालिका नगरपालिकाका मेयर पद्म बडुवालको प्रश्न थियो, ‘मेयरहरूले नगरपालिकामा कति काम गरे भनेर अध्ययन नगर्ने कांग्रेसको नेतृत्वले १६ महिनापछि भेला बोलाएर एक मिनट बोल्न दिएर के बुझ्नु हुन्छ?’
मेयर बडुवालले पार्टी हारेर बर्बाद हुँदा पनि समीक्षा नगर्ने र एक मिनट मात्र समय छुट्याएर समस्या केन्द्रले थाहा नपाउने गुनासो गरे। बाजुराकै त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावलले एक वर्षदेखि आफ्नो नगरमा कर्मचारी नभएर काम नहुँदा संसदमा कसैले आवाज नउठाएको र विप्लव माओवादीले चन्दा उठाएर आतंक सृजना गरेको गुनासो गरे।
स्याङ्जाको वालिङकी उपमेयर कल्पाना तिवारीले केन्द्रीय सदस्यहरू धेरै बेरोजगार भएकाले वालिङ नगरमा आफूहरूले गरेको विकासको उल्लेखनीय कामको अध्ययन र मूल्यांकन गर्न चुनौति दिइन्।
कार्यक्रममा कांग्रेसका तर्फबाट नगरमा निर्वाचित मेयर र उपमेयर गरी करिब दुई सय जनाको उपस्थिति थियो। प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य ध्रुव वाग्लेले पार्टी र जनप्रतिनिधिबीचमा कस्तो सम्बन्ध र कस्तो अधिकार हुन्छ भनेर विधानमा उल्लेख नभएको गुनासो गरे।
नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवलीले राजनीतिक कार्यकारी र राजनीतिककर्मीबीचको अन्तर्सम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४