शनिबार, साउन १२, २०८१

'हनिट्रयाप'मा यसरी फस्दैछन् पैसावाल व्यापारी

धेरै घटना प्रहरीसम्म नै नआई व्यवसायीहरुले रकम दिएर मिलाउने गरिएको चर्चा छ। जिल्लामा ठूलै तहका व्यवसायी, नेतासमेत हनिट्रयापमा पर्ने गरेका छन्।
 |  शनिबार, भदौ ४, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

शनिबार, भदौ ४, २०७९

नेपालगञ्ज- दाङ नारायणपुरकी २२ वर्षीय शर्मिला नेपाली तिलहरी बेच्ने बहानामा दिनेश घर्ती मगरको सुन पसलमा पुगिन्। दिनेशसँग मिठा कुराकानी गरिन्। मोबाइल नम्बर साटासाट भयो। त्यो परिचय विस्तारै गोप्य प्रेम सम्बन्धमा पुग्यो।  

triton college

व्यवसायी घर्तीसँगको चिनजान र फोनमा कुराकानी बाक्लिँदै जाने क्रममा साउन २६ गते राति शर्मिलाले कोठामा बोलाइन्। आफू एक्लै भएको भन्दै व्यापारी घर्तीलाई बोलाएको केही समयपछि कोठामा ३/४ जना पसे। चेलिबेटीलाई बलात्कार गर्न खोजेको भन्दै घर्तीलाई समातेर उनीहरुले हातपात गरे। त्यसपछि बार्गेनिङ सुरु भयो, एक लाख नगद र ११ लाख २० हजार रुपैयाँको चेकमा कुरा मिल्यो। त्यसपछि व्यवसायी दिनेश आफू 'हनिट्रयाप'मा परेको थाहा पाए। 

दिनेशले प्रहरीमा जाहेरी दिएकै अर्को दिन घटनामा संलग्न एक पुरुषसहित प्रहरीले ५ जनालाई पक्राउ गर्‍यो। दिनेशलाई ट्रयापमा पार्ने घटनामा संलग्न रोल्पाको परिवर्तन गाउँपालिका-५ का ४० वर्षीय दीलिपकुमार वली मुख्य योजनाकार थिए। उनको योजनामा काम गर्ने घोराही उपमहानगरपालिका-१० नारायणपुरका ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँ बस्ने ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया शर्मिला भनिने पर्मिला नेपाली थिए। प्रहरीले ५ दिनसम्म अनुसन्धान गरेर उनीहरूलाई सार्वजनिक गरिसकेको छ।

गएको साउन पहिलो साता दाङको तुलसीपुरमा हनिट्रयापको अर्को घटना भयो। मोबाइल फोनमा नजिकको सम्बन्ध बन्दै गएपछि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ वर्षीय केशवकुमार विक युवती भेट्न बुटवल पुगे। तर केशवलाई केही युवकले बुटवलबाट अपहरण गरी तुलसीपुर पुर्‍याएर ७ लाख रुपैयाँ फिरौती मागे। केशवको घरपरिवारबाट जानकारी पाएको प्रहरीले तुलसीपुरस्थित सल्यान रोडमा रहेको एक होटलमा बन्धक बनाइएका केशवलाई उद्धार गरेको थियो। साथै घटनामा संलग्न ७ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रियामा राखेको छ।

पक्राउ पर्नेमा पर्नेमा बबई गाउँपालिका-४ का ३५ वर्षीय लीला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–७ निवासी २६ वर्षीया निर्मला विक, तुलसीपुर-४ खाद्रेका २५ वर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ का २० वर्षीय मनोज थारू र गाडी चालक प्यूठान घर भई तुलसीपुर–६ बस्ने २४ वर्षीय जनक कुँवर रहेका छन्। तुलसीपुर प्रहरीलाई दैलेखबाट पीडितकी श्रीमतीले खबर गरेकी थिइन्।

Metro Mart
vianet

दाङ तुलसीपुरकी निर्मला विकसँग फेसबुकमा कुरा गरेका केशव दैलेखबाट निर्मलालाई भेट्न बुटवल पुगेका थिए। तर निर्मलाले आफू लिन आउन नसक्ने र आफन्तलाई लिन गाडी पठाएको बताएकी थिइन्। केशवलाई लिन बबई गाउँपालिका-४ की ३५ वर्षीया लीला विक र सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती पुगेका थिए। उनीहरुले केशवलाई गाडीमा हालेर तुलसीपुर पुर्‍याएका थिए। 

घोराहीमा गत वर्ष असार ६ गते एक युवा व्यवसायी यस्तै गिरोहको फन्दामा परे। दाङका युवा नेता, कानुन व्यवसायी समेत रहेका युवा उद्यमी सामान्य रुपमा चिनजान भएकै केही महिलासँग नजिक हुन पुगे। यही क्रममा सामान्य काम छ भन्दै होटेलमा बोलाई बियर र चिया खाएकै भरमा उनीमाथि तीन महिलाले जबरजस्ती करणीको आरोप लगाए। हल्ला गर्न खोजे। उनीहरुले ५० लाखबाट बार्गेनिङ सुरु गरे। 

केशवलाई हनिट्रयापमा पार्ने समूह
जीवनभर कमाएको इज्जत जाने भएपछि व्यवसायीले १८ लाख रुपैयाँमा कुरा मिलाउन तयार भए। त्यसमध्ये सानो रकम लिएका महिलाविरुद्ध ती युवा व्यवसायीले जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिए। जाहेरीका आधारमा दाङ प्रहरीले घोराही उपमहानगरपालीका १५ निवासी ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीय खुमा वली र घोराही उपमहानगरपालिका ५ बस्ने ३२ वर्षीया सुस्मा परियारलाई पक्राउ गर्‍यो।

केही समययता दाङमा पैसावाल व्यक्तिलाई हनिट्रयापमा पारेर रकम असुली गर्ने महिलाको गिरोह सक्रिय देखिएको छ। पहिले योजनाबद्ध रूपमा पुरुषलाई मायाजालमा पार्ने र त्यसपछि बलात्कारको आरोप लगाउँदै घटना बाहिर ल्याएर बेइज्जत गरिदिने धम्की दिँदै मोटो रकम असुली गर्ने गिरोह सक्रिय रहेको प्रहरीले बताएको छ। माथि उल्लेख गरिएका दाङमा भएर बाहिर आएका घटना हुन्। यसबाहेक धेरै घटना प्रहरीसम्म नै नआई व्यवसायीहरुले रकम दिएर मिलाउने गरिएको चर्चा छ। जिल्लामा ठूलै तहका व्यवसायी, नेतासमेत हनिट्रयापमा पर्ने गरेका छन्। 

केही वर्षअघि पनि तुलसीपुरकै एक व्यवसायी हनिट्रयापमा परेका थिए। हनिट्रयाप मार्फत अपहरणमा परेका उनको हत्या भएको थियो। तुलसीपुरकै चिरपरिचित राजकुमार श्रेष्ठ १८ वर्षीया पूजा घर्तीसँग नजिक भएका थिए। टीकाराम घर्तीको अपहरण योजना अनुसार उनले आफ्नै छोरी पूजाको नक्कली प्रेमको पासोमा व्यापारी श्रेष्ठलाई पारेका थिए। २०७४ जेठ २६ गते साँझ साढे ६ बजेतिर तुलसीपुरबाट ‘हनिट्रयापर’को रुपमा अपहरण परेका श्रेष्ठको हत्या भएको थियो। 

अदालतले अपहरण तथा हत्यामा संलग्नलाई ९ वर्षदेखि जन्म कैदसम्मको फैसला सुनाएको थियो। घटनाका मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजारका ३९ वर्षीय टीकाराम घर्तीलाई २० वर्ष कैदको फैसला सुनाएको छ भने घर्तीकी छोरी १८ वर्षीया किशोरी पूजा घर्तीलाई अपहरण मुद्दामा दश वर्ष कैद सजाय तोकेको थियो। 

टार्गेटमा धनाड्य र व्यापारी
घोराही उपमहानगरपालिका-१० मा पर्ने नारायणपुर उदाउँदो सहर हो। त्यही सहरमा सुनचाँदी व्यवसाय गर्दै आएका दिनेश घर्ती मगरमाथि हनिट्रयापरको आँखा पर्‍यो। उनीमाथि योजनाबद्ध ढंगले मायाप्रेमको नाटक गरी रकम असुली गर्ने योजना एक महिनादेखि सुरु भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए। 

प्रहरी प्रमुख काफ्लेका अनुसार हनिट्रयापको धन्दा मौलाउँदै गएको छ। 'समाजमा यस्ता घटना धेरै छन्, अहिले यस्ता प्रकारका घटनाहरु धेरै छन्। हामीले यो विषयलाई गम्भीर रुपमा लिने गरेका छौँ,' प्रहरी प्रमुख काफ्लेले भने, 'विभिन्न प्रकारका घटनामाथि अनुसन्धान गर्दै जाँदा धनी, पैसा कमाएका र सामाजिक प्रतिष्ठासमेत भएका मानिस ट्रयापमा पर्ने गरेको पाइएको छ।' कतिपय घटना बाहिर आउने भए पनि कतपय व्यक्तिको सामाजिक प्रतिष्ठामा खलल पुग्ने भएका कारण गुपचुपमै मिल्ने मिलाउने गरिएको प्रहरी बताउँछ। 

हनिट्रयाप धन्धामा संलग्न सुष्मा परियारको समूह।
सुन्दर युवती तथा महिला आफैँ वा अर्कोले प्रयोग गरी हाइप्रोफाइल व्यक्तिलाई यौन मामिलामा फसाएर मोटो रकम असुल गर्ने क्रम बढ्न थालेको प्रहरीको अध्ययनले देखाउँछ। यस्तो मामिलामा फस्ने मानिसहरु प्रायः हाइ-प्रोफाइल वा आम्दानी गर्ने व्यक्ति हुन्छन्। यस्तो जालमा फसेर लाखौं रुपैयाँ गुमाएका व्यक्तिहरुले हनिट्रयाप एक सामाजिक अपराध हो भन्नेसम्म थाहा नपाएको प्रहरी बताउँछ। 

दाङमा भएका विभिन्न हनिट्रयापका घटनाहरु विश्लेषण गर्दा सुन्दर युवती तथा महिलालाई प्रयोग गरेर पुरुषले आर्थिक लाभ लिन खोजेको देखिएको छ। राम्रो आम्दानी गर्ने मानिसको खोजी गरेर आपराधिक गिरोहले महिलालाई परिचालन गर्ने गरेको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए। 

पक्राउ परेका यस्ता व्यक्ति तथा गिरोहमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान हुने गरेको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 20, 2022| 17:40 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।