शनिबार, जेठ २, २०८३

बागलुङमा भदौरे जात्राको रौनक

झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको संकेत गरिरहेका छन्। ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

बागलुङ- शरदयामको छेकोमा यहाँको माहोल जात्रामय बनेको छ। झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको संकेत गरिरहेका छन्। ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ।

National life

जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ। जसलाई बर्खे नाचले पनि चिनिन्छ। भदौरै जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गरिन्छ।

रैथाने नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा जात्राको परम्परालाई धान्दै आएको छ। नेवार युवाहरूको संस्था ‘नेवाः ल्याम पुच’ का अध्यक्ष जय राजभण्डारीले शुक्रबार (आज) घोडा नाच देखाएपछि यो वर्षको भदौरे जात्रा सकिने बताए।

सोही संस्थाको अगुवाइमा मङ्गलबार रोपाइँ नाच र बुधबार शाक्य कल्याण समाजले जोगी नाच निकालेको थियो। त्यसअघि समाजले लाखे नाच र ल्याम पुचले होवा र कटुवाल नाच देखाएको थियो। ‘शाक्य कल्याण समाजबाट लाखे र जोगी नाच निकल्छन्, अरु नाच नेवाः ल्याम पुचले देखाउँछ’, अध्यक्ष राजभण्डारीले भने।

ऐतिहासिक नाच तथा जात्राको संरक्षणमा नेपाल भाषा मंकाः खलः, नेवाः ल्याम पुच र शाक्य कल्याण समाज सक्रिय छ। झण्डै तीन सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट यहाँ भित्रिएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताए।

‘भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा जात्रालाई लिइन्छ’, उनले भने, ‘जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खे नाच निकाल्न सुरु हुन्छ।’

गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकालिएको थियो। त्यसयता लाखे, होवा, कटुवाल, रोपाइँ, जोगी नाच प्रदर्शन भइसकेको छ। कृष्णाष्टमीका दिन घोडा नाच निकाल्ने तयारी छ। उक्त नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्काउँदै बजार परिक्रमा गराउने चलन छ।

कटुवाल नाचमा पनि युवा विभिन्न रूपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ। हली, बाउसे, खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ।

कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ। रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्क महिलाका भेष धारणा गरेर नाचमा सहभागी हुन्छन्। हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन्। असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ।

जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो। नेवारभित्र पनि शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ। जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन रहेको शाक्य कल्याण समाज सचिव मञ्जुल शाक्यले बताए। उनले बागलुङको जोगी नाच पनि तीन सय वर्ष पुरानो भएको उल्लेख गरे। 

जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ। जोगी नाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा जटिलता थपिँदै गएको समाजका सचिव शाक्यले बताए।

जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ। प्रायः नाच गाईजात्राकै भिन्न स्वरुपजस्ता देखिन्छन्। ‘जात्राले सामाजिक विकृति, विसङ्गतिप्रति व्यङ्ग्य मात्र गर्दैन’, संस्कृतिकर्मी छोटाले भने, “मौलिक र परम्परागत मूल्य, मान्यताले पनि यो सुसज्जित छ।’

सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने भिन्न–भिन्न पाइन्छ। गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ। बास्सा नाचमा देवी, देवताको वेषभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ।

नेपाल भाषा मंकाः खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पहिले–पहिले भदौरे नाच हेर्नकै लागि गाउँ–गाउँबाट बागलुङ बजार झर्ने गर्थे। ‘दिनभर जात्रामा रमाउने र चाडबाडलाई किनमेल गरेर साँझ घर फर्कने चलन थियो’, उनले भने, ‘ग्रामीण बजार, सडकको विस्तार आदिले अहिले त्यो चलन हट्यो।’

पछिल्लो समय जात्राको रौनक खुम्चँदै गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ। जिल्लाको हरिचौर, हटिया, बलेवालगायत नेवार जातिको बसोबास रहेका ठाउँमा पनि बर्खे नाच देखाउने गरिन्छ। संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन्। 

‘पुस्तान्तरणको अभावमा कतिपय परम्परागत नाच संकटमा छन्, अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ’, खलःका अध्यक्ष राजभण्डारीले भने, ‘नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिबारे बुझाउनुपर्ने खाँचो छ।’  -रासस

प्रकाशित: Aug 19, 2022| 10:13 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।