चितवन- चितवनको इच्छाकामना गाउँपालिका ४ कुरीनटार बजारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। शुक्रबार बिहान ३ बजेको समयमा काठमाडौंबाट भैरहवातर्फ जादै गरेको गरेको ना६ख ५९१३ नम्बरको जाममा फसेको ट्रकमा सोही दिशाबाट आइराखेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा दैलेख जिल्लका २६ वर्षीया सरोज रोकाया र काठमाडौं घर भइ सर्लाही बस्ने ३२ वर्षीय सरोज माझी रहेका छन्। प्रहरीले सवारी लाइसेन्स र नागरिकताको आधारमा दुवैको पहिचान गरेको हो।
ट्रकमा मोटरसाइकल ठोक्किदा घाइते भएका दुवैलाई उपचारको लागि भरतपुर पठाइएकोमा उपचारको क्रममा दुवैको चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। ‘मोटरसाइकल दुर्घटना हुनुभन्दा १५/२० मिनेट अगाडि बस र ट्रक जुध्दा बाटो जाम थियो। त्यहिँ जाममा रोकिएका ट्रकमा मोटरसाइकल ठोक्किदा दुर्घटना भएको देखिन्छ’ एक प्रहरीले भने।