काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडीहरू आजबाट सहज रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन्।
स्थानीयले अवरोध हटाएसँगै आजबाट नियमित रुपमा फोहोर बोकेका गाडी ल्यान्डफिल साइट बञ्चरेडाँडामा पुग्न थालेका हुन्। शुक्रबार बिहान फोहोर बोकेर गएका गाडीमा कुनै अवरोध नभएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
काठमाडौं महानगर, स्थानीय बासिन्दासहित सरोकारवाला निकायबीच भएको सहमतिपछि नियमित रुपमा फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुग्न थालेका हुन्।
काठमाडौंका मेयर बालेन्द्र शाहका अनुसार सहमतिपछि बिहीबार २ सय ८४ वटा गाडी बञ्चरेडाँडा पुगेका थिए। योसँगै महिनौंदेखि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन हुने भएको छ।
एक सातायता बञ्चरेडाँडा क्षेत्रमा स्थानीयहरू फोहोर ओसार्न अवरोध गर्दै आएका थिए। त्यस क्रममा प्रहरीले बलसमेत प्रयोग गर्नुपरेको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित र महानगरपालिका समेतले स्थानीय दलका नेता कार्यकर्ता र सरोकारवालासँग वार्तापछि बञ्चरेडाँडामा फोहोर लैजान सहज बनेको हो।
'हामीसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रक छन्। ट्रिपर, ट्रक जस्ता ठूला मेसिनरीका व्यवसायीको सहयोगले मात्रै छोटो समयमा धेरैभन्दा धेरै फोहोर उठाउन सकिन्छ। हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (नि:शुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सम्बद्ध सबैप्रति हामी आभारी छौं,' मेयर साहले भनेका छन्।