काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह भ्रष्चारको अखडा हुन थालेको बताएका छन्।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखसँग सोमबार आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा पौडेलले भने, ‘पारदर्शी रुपमा काम गर्नु पर्छ। सरकारले अहिले ठुला ठुला भ्रष्टाचार गर्न लागेकोले त्यस विषयलाई आम नागरिकसम्म लैजानु पर्छ।’
उनले अहिले ठुला घोटला भएकोले त्यसलाई स्थानीय तहले उजागर गर्नु पर्ने वताए। ‘नेपाल वायूसेवा निगमको वाइड बडी जहाज खरिदमा जसरी घोटाला भएको छ। त्यसलाई तल्लो निकायसम्म लैजानुपर्छ’, पौडेलले भने ‘यो सरकार स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गरी संघीयतालाई खारेज गर्न लागेको छ।’
संविधानको मर्म विपरित केन्द्र सरकारले स्थानीय तहका अधिकामाथि हस्तक्षेप गर्न लागेको उनले आरोप लगाए।
‘बर्तमान सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेको छ। यसरी हस्तक्षेप गर्न संघीय सरकारले पाउँदैन’, पौडेलले भने ‘कम्युनिष्ट सरकारले संघीयताको कार्यान्वयन गर्छ भन्नेमा शंका छ । संघीयता कम्युनिष्टको सत्तामा पर्दैन। कम्युनिष्ट सिद्धान्त भनेको जनवादी केन्द्रीयतामा आधारित सिद्धान्त हो।’
पौडेलले अहिले देखिएको कर उठाउने विवाद केन्द्र सरकारको कमजोरीका कारण सृजना भएको बताए। केन्द्र सरकारले वित्तिय आयोग नबनाएका कारण करको विवाद सृजना भएको उनको दाबी थियो। ‘ वित्तिय आयोग नबनेका कारण करको विवाद सृजना भएको हो। यो केन्द्र सरकारको कमजोरी हो’, पौडेलले भने।
स्थानीय तहका जनप्रतिनीधिले गर्ने काम पार्टीको भविश्यसंग जोडिएको भन्दै पौडेलले पार्टीको सिद्धान्त र प्रतिष्ठा जोगाउने ढंगले काम गर्न समेत नगर प्रमुख र उपप्रमुखलाई निर्देशन दिए।
‘जनताले तपाईहरुलाई निर्वाचित गरेर पठाएकाले तपाईहरुको कामसंग पार्र्टीको भविश्य जोडिएको छ’, पौडेलले भने हामी धेरै कमजोर अवस्थामा छौ। त्यसैले तपाईहरुको कामले पार्टीलाई माथि ल्याउन जरुरी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४