शनिबार, जेठ २, २०८३

सप्तरीमा गत वर्ष पोखरीमा डुबेर २४ जनाको मृत्यु

सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

सप्तरी- सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ। राजगढ गाउँपालिकामा गत बुधबार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो। उक्त गाउँपालिका–४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही ठाउँका वीरेन्द्र मण्डलको छोरा १३ वर्षीय राजा मण्डलको पनि डुबेरै मृत्यु भएको  प्रहरीले जनाएको हो।

National life

बुधबार मृत्यु भएका बालकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ। यसअघि साउन २६ गते बोदे बर्साइन नगरपालिका–८ काचनमा एक बालिकाको पोखरीमै डुबेर मृत्यु भयो। सोही ठाउँ बस्ने मीताराम दासकी छोरी छ वर्षीया नन्दनी कुमारी दासको पनि नुहाउने क्रममै मृत्यु भएको थियो।      यसैगरी साउन २४ गते जिल्लाको दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भयो। छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित पोखरीमा डुबेर दुई वर्षीय दिप पण्डितको मृत्यु भएको थियो। सोही दिन विष्णुपुर गाउँपालिका–३ बस्ने ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमै डुबेर मृत्यु भयो।

उनी पोखरीको मध्य भागमा फुलेको कमलको फूल टिप्न गएका थिए। प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० को सुरुआतमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर मृत्यु भएको थियो । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ। मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा ११, २०७७/०७८ मा २२ र २०७८/७९ मा २४ जनाको डुबेर मृत्यु भएको थियो। नयाँ आर्थिक वर्षको सुरुआतमै चार जनाको मृत्युले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ। 

तीन वर्षको अवधिमा बालबालिकाको मृत्यु अन्य कारणले भन्दा डबेरै मृत्यु हुनेको सङ्ख्या अधिक रहेको छ। तीन वर्षमा २१  बालक र १२  बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। जस्मा सात  बालक र छ जना बालिका त पाँच वर्ष मुनिका छन्। 

यसैगरी १९ देखि २५ वर्ष उमेरका छ पुरुष, २६ देखि ३५ वर्षका दुई महिला र चार पुरुष, ३६ देखि ४५ वर्षका एक महिला र दुई पुरुष, ४६ देखि ५५ वर्षका एक महिला र दुई पुरुष, ५६ देखि ६५ वर्षका तीन पुरुष तथा ६६ वर्ष माथिका तीन पुरुषको मृत्यु पनि डुबेरै भएको उल्लेख छ । तराई–मधेसमा पोखरीसँगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेर समेत मृत्यु हुने गरेको छ। यो तीन वर्षको अवधिमा २६को पोखरीमा, १०को खाल्डोमा, सातको खोलामा, १०को नहरमा र चार जनाको नदीमा डुबेर मृत्यु भएको थियो।  

गर्मी बढेसँगै पोखरीमा नुहाउन जानेको सङ्ख्यामा वृद्धि हुनुका साथै पोखरीधनी र अभिभावकको लापरबाहीका कारण बर्सेनि पोखरीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ थियो। डुबेर बालबालिकाको बढी मृत्यु हुनामा अभिभावकको लापरबाही नै देखिएको प्रहरीको अनुमान छ। प्रहरी नायब उपरीक्षक काफ्लेले अभिभावकबाट आवश्यक निगरानी हुन नसक्दा घटना वृद्धि भएको बताए। 'अभिभावक काममा जाँदा बालबालिकालाई घरमा छाडेर जानुपर्ने, बालबालिकालाई गाईवस्तु चराउन वा घाँस काट्न पठाउनुपर्ने हुन्छ,' विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका यदुनन्दन यादव भन्छन्, 'ग्रामीण बस्तीमा खानेपानी र नुहाउन पोखरीकै भर पर्नुपर्ने हुन्छ यसले गर्दा दुर्घटना बढेको हो।' 

प्रहरीका अनुसार यसअघि छठपर्वमा ४२० ओटा छठघाट रहेको पोखरी, नदी तथा नहरमा प्रहरीले सुरक्षा दिएको थियो। प्रहरी नायब उपरीक्षक काफ्लेले  भने, 'गाउँबस्तीमा पर्याप्त पोखरी भएकामा तीनमा घेराबार वा कतिपय पोखरीमा डिलसमेत नहुनाले बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ। अभिभावकले बालबालिका कता छन्, के गर्दैछन् भनेर पर्याप्त ध्यान दिनुपर्छ।'

सामुदायिक सेवा केन्द्रका लिल्लाअध्यक्ष हितनारायणलाल दासले बालबालिकालाई पोखरी, नहर, कुलोजस्ता जलाशय भएको स्थानमा एक्लै जान नदिने, पोखरीमा नुहाउनै परे ठूला मानिसको रेखदेखमा नुहाउन लगाउनेबारे अभिभावकलाई सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

डुबेर मृत्यु हुनेमा बालबालिका बढी भए पनि मादक पदार्थ खाएका, छारेरोग लागेका, पानीको गहिराइको बेवास्ता गरेका ठूला मानिसको पनि डुबेर मृत्यु हुने गरेको छ। जिल्ला प्रहरीले डुबेर मृत्यु हुने घटना वृद्धि भएको जनाउँदै अभिभावकलाई ध्यान पुर्‍याउन र निगरानी गर्न आग्रह गरेको छ। 'तराई–मधेसमा नदी, पोखरी मानिसको दैनिक जीवनसँग जोडिएको छ।' हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी किनारका भूपदेव मालीले भने, 'आयस्रोतको समेत प्रमुख आधार भएको नदी तथा पोखरीमा ज्यान जाने क्रम बढेकाले यसको व्यवस्थापनमा राज्यले नै अग्रसर भई सुरक्षित बनाउनु पर्छ।'    -रासस

प्रकाशित: Aug 19, 2022| 06:40 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।