काठमाडौं– आउँदो शनिबार २२औं बागमती नदी महोत्सव हुने भएको छ। बागमती नदी संरक्षणलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना गरिँदै आएको छ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा महोत्सव गर्न लागिएको हो। महोत्सवमा र्याफ्टिङसहितका गतिविधि हुने आयोजकले बताएका छन्।
शनिबार बिहान ७ बजेदेखि कुपण्डोल, बागमती पुल, ललितपुरबाट जलयात्रा सुरु गरिनेछ। विभिन्न सरकारी, गैरसरकारी, व्यापारिक संघ–संस्था तथा काठमाडौं उपत्यकाबासीका कारणले काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दूषित भएकाले महोत्सव आयोजना भइरहेको छ।
बागमतीको सामाजिक तथा धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण नदी ढलमा परिणत भएपछि अभियन्ताले यो अभियान चलाउँदै आएका छन्।
नाराका अध्यक्ष शिव अधिकारी र केन्द्रका अध्यक्ष मेघ आलेले सबैलाई नदीनजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनको सरोकार राख्ने अवस्था सिर्जना गराउन महोत्सवले भूमिका खेल्ने बताए। अभियानमा बागमतीमा र्याफ्टिङ र नदी सरसरफाइ पनि गरिनेछ।