काठमाडौं- राप्ती नदी तरेर विद्यालय गइरहेका विद्यार्थी सवार सानो डुंगा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन्।
लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी सवार डुंगा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको प्रहरीले जनाएको छ। अन्यको अवस्था सामान्य रहेको छ।
लमही नगरपालिका-९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको लमहीमा उपचार भइरहेको छ।