काठमाडौं- कृष्णाष्टमी अर्थात् भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ।
सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजीत कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’का शीर्ष अभिनेता पुष्प खड्का,अभिनेत्री श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,निर्देशक दीपक ओली,गायक रबि ओड,गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द मंगलबारै चितवन पुगेका थिए।
कन्सर्टमा पुष्प र श्रद्धालाई भीडबाट जोगाउन सेक्युरिटीलाई हम्मे हम्मे परेको थियो। हजारौं दर्शकले पुष्प,श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए।
ओएसीस एजुकेशनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरुलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए।
त्यसैगरी गायक रबि र गायिका सुनीताले ‘अटल बाच गरें’ गाउदा दर्शकहरु निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए। चितवनबासी दर्शक श्रोताबाट पाएको माया,सम्मान र हौसलाले आफूहरुलाई निकै खुशी लागेको अभिनेता पुष्पले बताए। उनले आफू जहिल्यै चितवन आउदा पनि औधी माया पाइरहेको स्मरण गरे। निर्देशक दीपकले दर्शकलाई ‘कृष्ण लीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले प्रदर्शनको हिसाबले यो नै आफ्नो पहिलो फिल्म भएकाले भरपुर माया र साथको अपेक्षा राखेको बताइन्।
साँझ पाँच बजे सुरु भएको कन्सर्टमा ‘कृष्ण लीला’ का कलाकार तथा निर्देशकसँग फोटो र सेल्फी खिच्ने काम अबेर रातिसम्मै चलेको थियो।
द पोजेटिभ इभेन्ट्सले ब्यबस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा,अकीवा वाइन,सिजी ल्याण्डमार्क,फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन,लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिटलगायत थिए। आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्।
लक्ष्मण सुवेदी लिखित फिल्ममा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्रका साथमा हिउँवाला गौतम,भावना गुरुङ,नवीन रेग्मी तथा बालकलाकार आयुष गुरागाईँले अभिनय गरेका छन्। प्रकाशराज कार्की र केवल तामाङ निर्माता तथा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मका गीतमा रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी छ। अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्ममा श्री श्रेष्ठको थ्रिल छ। ‘कृष्ण लीला’ लाई यो बर्षकै प्रतिक्षित फिल्मको सूचिमा राखिएको छ।



