विराटनगर- मोरङको सुनवर्षी नगरपालिका-९ मा सर्पले टोकेर एक युवाको मृत्यु भएको छ। बुधबार राति १२ बजेतिर सर्पले टोक्दा सुनवर्षी-९ डाइनियाका २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।
रातको समयमा बाहिरबाट घर फर्कने क्रममा सिंहको खुट्टामा सर्पले टोकेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घरनिजकै आइपुगेपछि आफूलाई सर्पले टोकेको भनेर उनले परिवारमा जानकारी गराएका थिए। त्यसलगत्तै आमाले उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।