२०७१ साउन। राजधानीको अकासमा लागेको बादलको मैलो निरन्तरको झरीले पखालिरहेको थियो। त्यही झरीको पर्वाह नगरी अभिनेत्री रेनु योगी साथी रञ्जना वलीसँगै सिनेमा हेर्न जान तयार हुँदै थिए ।
‘सिनेमा होइन, नाटक हेर्न जाऔं’, रेनुकी साथी वलीका बुबाले भनेपछि रेनु खिन्न भइन् । किनभने, सानैबाट फिल्म हेर्दै आएकी रेनुलाई नाटकको रस थाहा थिएन। फिल्मको चस्का भने बिर्सिएकी थिइनन्।
आफ्नै बाबा समानका साथीका बुबाले नाटक हेर्न जाऔं भनेपछि रेनु र रञ्जना तयार भए। झरीसँग ओत लाग्दै रञ्जना र रेनु नाटक हेर्न अनामनगरको मण्डला थिएटर पुगे।
जीवनमा पहिलो पटक रंगमञ्च देखेकी रेनुलाई मण्डला पुग्दा दिक्क लागेको थियो। कारण, फिल्म हेर्न छुटेको थियो। मण्डला अगाडि नाटक ‘चरणदास चोर’को पोस्टर देखेर झनै दिक्क मानिन्। फिल्मको पोस्टर ठूलो र कलाकार स्पष्ट चिनिने हुन्थे। तर नाटक हेर्न आएपछि फर्किने कुरा पनि भएन।
सन् १९७५ मा छत्तीसगढ रायपुर भारतका एक प्रख्यात नाटककार हबीव तनवीरले लेखेको नाटकको नेपाली अनुवाद ‘चरणदास चोर’ हेर्न भित्र पसिन्, रेनु। रंगकर्मी राजन खतिवडाले निर्देशन गरेका नाटक हेर्दाहेर्दै दिक्दारिएको अनुहार बदलिएको सम्झिइन्, ‘नाटक मञ्चन भइरहँदा थिएटरको अध्याँरोमा आफू मात्रै भएझैं लागेको थियो।’
आफ्नै बाबा समानका साथीका बुबाले नाटक हेर्न जाऔं भनेपछि रेनु र रञ्जना तयार भए। झरीसँग ओत लाग्दै रञ्जना र रेनु नाटक हेर्न अनामनगरको मण्डला थिएटर पुगे।
राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल, विकाश जोशी, उमेश तामाङ, सुलक्ष्मण भारती, सिर्जना अधिकारी, मोहमद नाजिर हुसेनलगायतको अभिनय रहेको नाटक हेरेर रेनुलाई ‘म्याजिक’ लाग्यो।
आफ्नै आँखा अगाडि कलाकारले अभिनय गरेको देखेर उनी उत्साहित मात्रै भइनन्, कुतूहल पनि भइन्। फ्रेस नै भइन्। ‘त्यो क्षण मलाई सपनाजस्तो भएको थियो। कलाकार आँखा अघिल्तिरै थिए। त्यो म्याजिक मेरो जीवनको मार्ग थियो सायद’, चरनदास चोर नाटक हेर्दाको अनुभव सुनाइन्।
नाटक हेरेर फर्किएको रात निदाउनै सकिनन्, उनी। त्यो नाटकमा पात्रले गरेको भूमिकामा आफूलाई देख्न थालिन्। नाटकमा कलाकारले गरेको अभिनयलाई नक्कल गर्न थालिन्। रञ्जना र रेनुले एकअर्कालाई अभिनय नै गरेर देखाए। फिल्मले भन्दा कैयौं गुणा आनन्द दिएको महसुस गरेकी रेनु विद्यार्थी बनेर मण्डला थिएटरतिरै फर्किइन्। उनको साथमा रञ्जना पनि मण्डलासँग जोडिइन्। तीन महिने कार्यशालाले उनको अभिनय करियरमै बदलाव आयो।
मण्डला थिएटरको दोस्रो ब्याचको रूपमा प्रवेश गरेकी रेनु ठीक ९ वर्षपछि १० भदौमा प्रदर्शनमा आउन लागेको ‘प्रकाश’ चलचित्रले चर्चामा छन्। तर प्रकाश चलचित्र संयोगले जुरेको भने होइन। चलचित्र उनको बाल्यकालदेखिकै सपना थियो। उनी भन्छिन्, ‘म सिनेमा नै खेल्न पुग्छु होला भन्ने लागेको थिएन। तर कलाकार बन्ने हुटहुटी भने सानैदेखि थियो।’
कर्णालीको कालीकोटमा जन्मिएकी रेनु भारतको नैनीतालमा हुर्किइन्। गाउँमा माओवादीको सशस्त्र द्वन्द्व छिरेसँगै उनका बुबाआमा भारत पसे। अलिकति द्वन्द्वबाट बच्न र अलिकति अभाव टार्न उनका बुबाआमा रोजगारीका लागि भारततिर लागेका थिए। बुबाको काँधमा बसेर नैनीताल लागेकी रेनुले कक्षा ६ सम्म उतै पढिन्।
सुन्दर सहर नैनीतालमै हुर्किएकी रेनुका आँखामा आज पनि रामलीला नाटक हटेका छैनन्। ठूलो मेलाको तामझामसहित रामलीला सुरु हुन्थ्यो। उनले नाटकमा रामसीता र अन्य कलाकारको अभिनय नजिकबाट देख्न पाएकी थिइन्। रेनु भन्छिन्, ‘नैनीतालमा रामलीला नाटक र टिभीमा सिरियल तथा फिल्म निरन्तर हेर्न पाउँथें। त्यो बेलादेखि नै ममा कलाकारिताको भूत सवार भएको हो।’