बैतडी- बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ। दशरथचन्द नगरपालिका-४ बिनासौँमा स्थानीयले जंगली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार बुधबार बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन्। उनले भने, 'चितुवाको ढाडमा पासो परेको छ।
उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ।' उद्धार टोली बुधबार बेलुकासम्म आइपुग्ने बताइएको छ। 'त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ,' कँडेलले भने।