काठमाडौं- बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न अवरोध गर्नेहरूमाथि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ।
मंगलबार स्थानीयहरूले फोहोर बोकेकका गाडीलाई अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले एक सेल अश्रुग्यास र ५ राउन्ड हवाइ फायर गरेको हो। प्रहरीको हवाई फायरपछि आन्दलोनकर्ता तितरवितर भएका छन्।
यसअघि प्रहरीले बल प्रयोग गर्दा झडप समेत भएको स्थानीय माओवादी नेता विष्णु तामाङले जानकारी दिए। झडपमा दुवैतर्फ घाइते भएको उनको भनाइ छ।
‘प्रहरीले हवाइ फायर गरेको छ। हाम्रो टोली चारैतिर छरिएको छ,' उनले भने, 'हाम्रो तर्फका साथीहरू घाइते भएका छन्। प्रहरीका तर्फबाट पनि घाइते भएका छन्। यसरी बल प्रयोग हुने हो भने हाम्रो विकल्प छैन, भोलि स्थानीय थप आक्रोशित हुन सक्छन्।’
स्थानीयको विरोधका बाबजुद पनि बल प्रयोग गरेर फोहोर फाल्ने प्रयास गर्नु गलत भएको उनको भनाइ छ।