काठमाडौं– फोहोर बोकेर काठमाडौंबाट गएका गाडी नुवाकोटको आलेटारमा रोकिएका छन्। स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गर्नुका साथै अश्रु ग्यास प्रहार गरेको छ।
सडक माथिबाट स्थानीयले ढुंगामुढा गरेका छन्। फोहोर व्यवस्थापन राम्ररी नभएको र महानगरबाट कुनै जानकारी नपाएको भन्दै स्थानीय विरोधमा उत्रिएको धुनिवेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङले बताएका छन्।
‘फोहोरमैला व्यवस्थापन सहजीकरण गर्ने विषयमा महानगरपालिकाले पत्र पठाएको थियो। हामीले २२ गते नै फोहोर व्यवस्थापन राम्ररी हुन नसकेपछि स्थानीयले वडा घेराउ गरेको विज्ञप्ति निकालेका थियौं तर सहजीकरणका लागि उहाँहरुले चासो व्यक्त गर्नु भएन,’ उनले भने, ‘कुन काम कति भयो र व्यवस्थापनमा भएका समस्याबारे महानगरले जानकारी नै दिँदैन। हामीले काम हुँदैछ भन्ने मौखिक जानकारी मात्र दिन बाध्य छौं। अहिले स्थानीयले वडालाई नै विश्वास गर्न छाडिसकेका छन्। स्थानीयको आन्दोलन हाम्रो नियन्त्रण बाहिर गइसकेको छ।’
सोमबार फोहोरमैला सदाका लागि बन्द गर्न भन्दै धुनीबेसी नगरपालिका–१ का नेपाली कांग्रेसका सभापति, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षले विज्ञप्ति नै जारी गरेका थिए। सोहि अनुसार आज स्थानीयले अवरोध गरेका हुन्। जेठ २६ गते सम्झौताका लागि छलफलमा भेटिएका काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले त्यसपछि देखिएका समस्याका लागि कुनै सम्पर्क र सहकार्य नगरेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
यसअघि विरोध गर्दै आएका संघर्ष समितिका संयोजक श्रीराम ढुङगानाले भने आफूहरुको आन्दोलन छायामा पार्न दलहरूले घुसपैठ गरेको आरोप लगाएका छन्।
‘हामीले पर्सि १ गतेबाट गर्न भनिएको आन्दोलन तुहाउनका लागि घुसपैठ गराइएको छ। साउन २२ गतेबाट नै घुसपैठ सुरु भएको हो,' उनले भने, 'अहिले आन्दोलन गरिरहेका मान्छेहरु स्थानीय नभएर धार्के चौबिसेका ८ देखि १० जना मान्छे भन्ने सुनेको छु।’
आफूहरू अराजक बनेर काम ठप्प पार्ने सोचमा नरहेको उनले बताए। 'अहिलेको आन्दोलन राजनैतिक स्वार्थको खेल हो,' उनको भनाइ छ।