शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं महानगरले थाल्यो सडक अतिक्रमणविरुद्ध सचेतना अभियान

काठमाडौं महानगरले थाल्यो सडक अतिक्रमणविरुद्ध सचेतना अभियान

सडक अतिक्रमण गरेर व्यापार-व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई पैदल यात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषय सम्झाएर अनधिकृत व्यापार नगर्न आग्रह गर्दैछ महानगर।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– काठमाडौं महानगरको नगर प्रहरी बलले पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान थालेको छ। अभियानमा सडक अतिक्रमण गरेर व्यापार, व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई पैदल यात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषय सम्झाएर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको छ। 

National life

औपचारिक रूपमा व्यापार गर्नेलाई सामान सडकमा ननिकाल्न, ठाउँ बढाउन थप संरचना नबनाउन, त्रिपाललगायत सामान छोप्ने वस्तु राखेर सुन्दरता नबिगार्न अनुरोध गर्ने गरिएको छ।  

‘अहिले हामीले बानेश्वर र बालाजु, माछापोखरी क्षेत्रमा यस प्रकारको अभियान थालेका छौं’, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटा भन्छन्,  ‘अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्छ। यस प्रकारको व्यवसाय सरकारसँग जिम्मेवार देखिँदैन। त्यसैले अनौपचारिक व्यापारलाई औपचारिक बनाउनुस्। महानगरलाई सहयोग गर्नोस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको हो।’

अभियानमा नगर प्रहरीसँगै दैनिक ३० देखि ५० जनासम्म स्वयंसेवक परिचालन गर्ने गरिएको छ। अभियानले बानेश्वर क्षेत्रमा पारेको प्रभावबारे जानकारी दिँदै नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई भन्छन्, ‘फुटपाथमा गरिने व्यापार सामाजिक समस्या भएकाले समाधानका लागि थालिएको सामूहिक प्रयासबाट अनधिकृत व्यापारमा कमी आएको छ। हामी पार्किङ प्रयोजनका लागि निर्माण गरिएका तर अन्य प्रयोगमा ल्याइएका ठाउँ पहिचान गर्दै छौं। यसबाट पार्किङ समस्या समाधान हुनेछ।’

नयाँ बानेश्वर चोकदेखि शंखमूल, पुरानो बानेश्वर, मीनभवनसम्मको क्षेत्रलाई अनौपचारिक व्यापार निषेधित क्षेत्र बनाइएको नगर प्रहरी निरीक्षक भट्टराईको भनाइ छ। 

अभियानमा नेपाल प्रहरी ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, घरधनी, स्थानीय व्यापारी, व्यवसायी संघ, स्कुले विद्यार्थी, स्थानीय संघ– संस्था, क्लब, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अभियन्तालगायतलाई सहभागी गराइएको छ।  

‘भित्री सहरी क्षेत्रका असन, इन्द्रचोक, महाबौद्धलगायत क्षेत्रका सडकमा भएको अवरोध हटाउन जनप्रतिनिधिको साथमा अभियान चलाइरहेका छौं,’ नगर प्रहरी नायब निरीक्षक लोकनाथ चुडाल भन्छन्, ‘सडक अवरोध हटाउन स्थानीय टोल सुधार समिति, उपभोक्ता समितिबाट पनि अनुरोध आउने गरेको छ। यसरी आउने मागलाई उहाँहरूसँगै समन्वय गरेर व्यापारीलाई सम्झाउने, माइकिङ गरेर अनौपचारिक व्यापारलाई निरुत्साहन गर्ने, औपचारिक व्यापारीले गरेका त्रुटि सच्याउन अनुरोध गरिरहेका छौं।’ 

उनका अनुसार तरकारी बिक्री गर्ने स्थलका रूपमा प्रयोग हुँदै आएका ठाउँलाई बिहान ८ बजेसम्म मात्र राख्न दिने गरिएको छ। अभियानमा बल प्रयोग गरिँदैन। समुदायको सहभागितामा सचेतना कार्यक्रमसँगै सडकपेटी अतिक्रमण नियन्त्रण, सहरी व्यवस्थासम्बन्धी काम, सरसफाइ, ट्राफिक नियन्त्रणजस्ता कामलाई सँगसँगै लगिन्छ। यस्तै, दृश्य प्रदूषण नियन्त्रण, पार्किङ स्थल व्यवस्थापन, साइकल तथा ठेलागाडा नियन्त्रण, पसल कबल बाहिर र सेडब्याकमा रहेका पसलको व्यवस्थापन, सडकपेटी मर्मत, बार र ट्रिगार्ड व्यवस्थापन, रुखको ट्रिमिङ, अव्यवस्थित तार व्यवस्थापनका काम हुने गरेका छन्।

प्रकाशित: Aug 16, 2022| 14:53 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।