शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गे र अर्ना

मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गे र अर्ना

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो। तीसमेत सबै मरेका छन्।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

चितवन- वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे मरेर सकिएका छन्। विसं २०७३ मा ल्याइएका १५ अर्ना र विसं २०७४ मा ल्याइएका सात बाह्रसिङ्गे सखाप भएका हुन्। निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर  निर्माण गरी राखिएका अर्नाले सात  बच्चा जन्माएको थियो। तीसमेत सबै मरेका छन्। 

National life

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बाँकी रहेका तीन अर्ना सोमबार बाघले खाएपछि सबै सकिएका हुन्। पानी छिर्ने ठाउँबाट बाघ पसेर तीनवटै अर्ना खाएको अनुमान निकुञ्जले गरेको छ। यसअघि एउटा अर्ना बाघ पसेर खाएको थियो। तत्कालीन समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ अर्ना सबै मरेका हुन्। चार वटालाई बाघले खाएको हो भने बाँकी रोग र बाढीले बगाएर मरेका हुन्। 

संरक्षण आचार्यले संरक्षणका लागि ठूलो प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताए। गत आर्थिक वर्ष २०७८-७९ को पाँच महिनाको अवधिमा १० अर्ना मरेका थिए। साउनदेखि मंसिर मसान्तसम्म १० अर्ना मरेका हुन्। छ वटा भाले र चार पोथी अर्ना मरेका थिए। बाँकी रहेका तीन वटा पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको संख्या शून्य भएको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो। तीमध्ये दुई पोथी ल्याउने वित्तिकै र अन्य  चार  विभिन्न कारणले मरिसेका छन्। अर्नासँगै रहेको एक  बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो। सो बाह्रसिङ्गे पनि मरेको अनुमान गरिएको छ। 

तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ  पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो। यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्यााउने काम रोकिएको थियो। चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुल्ला खोर निर्माण गरेर कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो। चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि विसं २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ अर्ना निकुञ्जमा ल्याइएका थिए। अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो। विसं २०७४ मा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए।

अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमीमा बस्न रुचाउने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। सन् १९६१ सम्म चितवनको घना जङ्गलमा अर्ना पाइन्थ्यो भन्ने भनाइ छ। त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए। निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ वर्षअघि नै अर्ना यहाँका जङ्गलबाट लोप भएको संरक्षणकर्मी बताउँछन्। निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनाश हुनु, अर्नाको चोरी सिकारी हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षण विद्हरुले कारण मान्दै आएका छन्।

कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो। कोसी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारी बताउछन्। 

विसं २०७१ मा नै सरकारले पाँच भालेसहित २० अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने निर्णय गरेको थियो। १५ वटा ल्याइयो, थप पाँच वटा ल्याइएन। यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो। अर्नाको सरदर आयु २५ वर्ष हुन्छ। यिनीहरुले आफ्नो जीवनकालमा पाँच वटासम्म बच्चा जन्माउन सक्छन्। भाले अर्ना तीन-चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजनन योग्य हुन्छ। यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुने गर्दछ।  -रासस

प्रकाशित: Aug 16, 2022| 09:55 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।