शनिबार, जेठ २, २०८३

साउने सोमबार व्रत समापन

सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले साउनको अन्तिम सोमबार गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले साउनको अन्तिम सोमबार गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्। 

National life

केही भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन्। धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन्। पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र वर्तालु भक्तजनको घुइँचो थियो। 

विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन्। साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ। साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन्। साउनको पनि सोमबार विशेष मानिन्छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउछन्। परम्पराअनुसार कुनै कुल विशेषले चन्द्रमासअनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले सुनाए। यसवर्ष साउन २, ९, १६, २३ र ३० गते गरी पाँच सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विशेष पूजा वा गोदान, पूर्णपात्र गरी विधिपूर्वक समापन गरिएको हो। 

नयाँ व्रत सुरु गर्नेले पाँच सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने पनि धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो। शास्त्रीय मान्यताअनुसार चार सोमबार परेको वर्षबाट पनि नयाँ वर्तालुले आराधना गर्न सक्छन्।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ। साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतअनुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ। प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन्। 

धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन्। शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लागेको थियो। बोल बम यात्रीले वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म खाली गोडा पैदल यात्रा गरी जल चढाएका छन्। भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यसवर्ष बोल बम काँवर यात्रा सम्पन्न गरेका छन्। धेरै नेपालीले वर्षमा एक पटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेकसमेत गर्ने परम्परा छ।

साउनको अन्तिम सोमबार आज गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर महादेव मन्दिर, डोलेश्वर महादेव मन्दिर, सन्तानेश्वर महादेव मन्दिरलगायत देशभरका शिवालया गोदान, पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गर्ने भक्तजनको भीड लागेको थियो।

प्रकाशित: Aug 15, 2022| 23:45 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।