काठमाडौं– सोमबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बैठकले आउँदो ४ मंसिरका लागि निर्धारण गरिएको प्रतिनिभिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र चुनौतीबारे छलफल गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचन व्यवस्थापन कसरी गर्ने, तयारी कसरी अगाडि बढाउने, निर्वाचन सुरक्षा योजना र सुरक्षामा जनशक्ति परिचालनका विषयमा बैठकमा छलफल भएको बताए। उनका अनुसार आउँदो निर्वाचनका लागि आइपर्ने चुनौती र तिनको समाधान कसरी खोज्ने भन्ने विषयमा पनि छलफल भएको छ।
निर्वाचन सम्पन्न गर्न गृहका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोष्ट’ गठन गरिएको छ। त्यस्तै, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निर्णय बैठकले गरेको छ। पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाइनेछ।
यस्तै, प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृहका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल बनाइनेछ। त्यस्तै, प्रदेश स्तरमा कमान्ड पोस्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमान्ड पोस्ट तथा जिल्ला निर्वाचन सेल बनाउने निर्णय भएको छ।
बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयमा सांगठनिक आवश्यकताअनुसार निर्वाचन सेल बनाउन सक्ने निर्णय भएको छ।
बैठकमा गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, मन्त्रालयका प्रशासन तथा सुरक्षाविज्ञ सुनील खनाल, प्रवक्ता पोखरेल, प्रहरीका नायब महानिरीक्षक वसन्त कुँवरलगायत सहभागी थिए।