'मैले कडा अनुशासन पालना गर्नुपर्छ भन्ने महसुस गरेको छु। म मधुमेह रोगी छु र माछाले पानी पिएजस्तै रक्सी पिउँछु। म मेरा जुम्ल्याहा बच्चा २५ वर्षको भएको हेर्न चाहन्छु। त्यसैले पनि मैले सावधानी अपनाउनुपर्छ,' सन् २०१० मा फाइनान्सियल एक्सप्रेससँगको कुराकानीमा झुनझुनवालाले भनेका थिए। तर उनका जुम्ल्याहा सन्तान १२ वर्ष मात्र भएको बेला आइतबार उनको मृत्य भएको छ। जुम्ल्याहा बच्चाको उमेर २५ वर्षको देख्ने उनको उक्त चाहना अधुरै रह्यो।
भारतीय सेयर बजारका वारेन बफेट मानिने राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन भएको हो। फोर्ब्सको सूचीअनुसार भारतीय सर्वाधिक धनीको सूचीमा ४८औँ स्थानमा रहेका झुनझुनवालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि श्रद्धाञ्जली अर्पण गर्ने भारतीयहरूले लामो सूची बनेको छ।
मुम्बईको सिटी अस्पतालमा उनको निधन भएको हो। उनको निधनको कारण औपचारिक रूपमा खुलाइएको छैन। तर बीबीसीले उनको मृत्युको कारण किड्नीसम्बन्धी समस्या भएको उल्लेख गरेको छ।
धनाढ्यहरूको सम्पत्तिसम्बन्धी विवरण सार्वजनिक गर्ने फोर्ब्स पत्रिकाले उनको कुल सम्पत्ति ५.८ अर्ब डलर रहेको बताएको छ।पछिल्लो समय झुनझुनवाले आकाश एयरमा लगानी गरेका थिए। यो कम्पनीले अगस्टबाट मात्र सेवा प्रदान सुरु गरेको छ। कोभिडकालमा नराम्ररी प्रभावित भएको वायुसेवाको व्यापार पछिल्ला दिनमा तीव्र रूपमा बढेको छ।
यस भिडियोमा झुनझुनवाला आफ्नी श्रीमती रेखा, नजिकका साथी उत्पल सेठ, अमित गोएला र परिवारका धेरै सदस्यहरूसँग देखिएका थिए।