लहान- सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । शनिबार साँझ बेपत्ता भएका तीन बालकमध्ये एक जनाके शव भेटिएको छ भने दुई जनाको अवस्था अझै अज्ञात छ।
सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए ।
बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आइतबार बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए ।
चार जनाको समूहमा कमला नदी जल भर्न पुगेका मध्ये एक जना बालकलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरे पनि बाँकी तीन जना कमला नदीमा डुबेर बेपत्ता भएका थिए ।
पहाडी क्षेत्रमा वर्षा भएकाले कमला खोलामा दुई दिनदेखि पानीको बहाव बढेको छ । बाढी बढेपनि खोजी कार्य भने तिब्र पारेको प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४