काठमाडौं– २०४५ तिर कलाकार राजप्रकाशमान तुलाधर नरदेवीबाट हिँडेरै सुन्धारास्थित गोश्वारा हुलाक सेवा कार्यालय पुग्थे। तर चिठ्ठीपत्र लिन वा छाड्न पुग्दैनथे उनी। उनी गोश्वारा हुलाकको पछाडि उसैले थुपारेको कागजको थुप्रोमा हुलाक टिकट खोज्न पुग्थे।
कागजको थुप्रोमा खाममाथि टाँसिएको टिकट हेर्थे र हुलाक कार्यालयको छापले नछोएको टिकट उप्काएर खल्तीमा हाल्थे। हुलाक टिकटले खल्ती भरिएपछि सुन्धारा, असन, इन्द्रचोक हुँदै नरदेवी फर्किन्थे, राजप्रकाश।
आफ्नो घर नरदेवी पुगेर हुलाक टिकट भुइँभरि फैलाउँथे। टिकटमाथि भएको चित्रले उनलाई लोभ्याउँथ्यो। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर अंकित चित्र भएको हुलाक टिकटप्रति लोभिन्थे।
‘म देवीदेवतासँग आकर्षित भएको नै हुलाक टिकटका कारण हो’, उनले विगत दिन सम्झिए, ‘पुनप्र्रयोगमा आउन सक्ने खाले हुलाक टिकट हनुमानढोका सँगै रहेको गणेशथान मन्दिरको पछाडितिर लगेर एक–दुई रुपैयाँमा बेचिन्थ्यो।’
मठमन्दिर तथा देवीदेवता चित्र अंकित हुलाक टिकटलाई भने उनी बेच्दैनथे, बरु टिकटको फोटो हेरेर कापीमा चित्र कोर्न बस्थे। त्यतिबेलै टाउकोमा टुटिल्को उठ्ने गरी आमाबाबाले हिर्काउने र चित्र बनाइरहेको कापी थुतेर पढ्न भन्ने गरेको उनी स्मरण गर्छन्।
‘मेरो टाउकाको एउटा छेउमा आमाले बनाइदिनुभएको ट्याटु छ भने अर्को छेउमा बुबाले बनाइदिनुभएको ट्याटु (टुटिल्को उठेर बनेको खतलाई उनी ट्याटु भन्छन्)। त्यसैले म सानैदेखिकै कलाकार हो नि’, बुबाआमाले टाउको हानेर बनाइदिएको ट्याटु सम्झिए, उनले।
सुन्धारा हुलाक अड्डाले बिस्कुन बनाएर फालेको फोहोरभित्र हुलाक टिकट खोजेपछि आफ्नो घर नरदेवी पुगेर भुइँभरि फैलाउँथे, राजप्रकाश। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर चित्र अंकित हुलाक टिकटप्रति खुबै लोभिन्थे।
चाँगुनारायण मन्दिर, स्वयम्भू, पशुपति, विभिन्न ऐतिहासिक व्यक्तित्वको चित्रले उनलाई लोभ्याउँथ्यो। ४८औं वसन्त पार गरेका राजप्रकाशका आमाबाको चाहना भने छोरा डाक्टर वा इन्जिनियर बनोस् भन्ने हुन्थ्यो। तर उनलाई हुलाक टिकटमा अंकित चित्रले लोभ्याइसकेको थियो। नरदेवी आसपासका मन्दिर र मूर्तिलाई छुँदै हिँड्थे। बेलुकी घर फर्किएर कापीमा चित्र कोर्थे।
हुलाक टिकटमा भएका चित्रको साइज, आकार, रङ हेरेर उनी सोचमग्न हुन्थे। अनि कापीमा हुबहु उतार्ने कोसिस गर्थे। हुलाक टिकटलाई एकदम नजिक राख्नुपथ्र्यो उनलाई। नजिकको वस्तुको भेउ पाए पनि टाढाको केही देख्दैनथे। त्यसैले घरमा आमाबुबाको गाली र स्कुलमा कालोपाटीमा लेखेको अक्षर सार्न नपाउँदा गुरुको पिटाइ खानुपथ्र्यो। पढ्न अल्छी गर्छ भन्ने आरोप लाग्थ्यो, उनलाई।
स्कुलमा कमजोर विद्यार्थी भए पनि राजप्रकाशले २०४८ मा एसएलसी दिए। कलेज नपढ्दै उनी पाठ्यक्रम बाहिरका किताब धेरै पढ्ने गर्थे। धर्म, संस्कृतिमा पनि राम्रो रुचि थियो। त्यसैले उनलाई तिनै धार्मिक देवीदेवताको चित्र बनाउन जाँगर चल्थ्यो। कापीका पाना सक्थे।
छोरो कुनै राम्रो विषय पढ्ला भन्ने आश गरेका बाआमालाई उनले निराश बनाए। किनभने, उनले कलेज जानुको साटो नरदेवीमै प्रेममान चित्रकारसँग कला सिक्न थाले। आर्ट सिक्न थालेपछि उनलाई बाआमाले सहयोग गर्न छाडे। आफूले भनेको बाटो नहिँडेको बात लगाएर छोरालाई सहयोग गरेनन्। तर राजप्रकाशमानका एक जना दाजुले आर्थिक सहयोग गर्न थाले। चित्रकारसँग आर्ट सिक्दासिक्दै उनले साथी पाए, समुन्द्रमानसिंह श्रेष्ठ। दुवैको संयोजनमा चित्र कोरिन थालेपछि उनीहरू ठमेल, असन, हनुमानढोका, भक्तपुर र पाटनका आर्ट पसलमा आफैंले सिर्जिएका कला बोकेर हिँड्न थाले। तर भनेजस्तो चित्र बिक्री हुँदैनथ्यो र पैसा पनि आउँदैनथ्यो। सोही कारण उनी बेलाबेला निराश हुन्थे।
कम बोल्ने स्वभावका राजप्रकाशलाई नरदेवीतिर देखेर त्यहाँका स्थानीय डराउँथे। टोले डनजस्तो समूह बनाएर हिँड्न थालेपछि नरदेवी टोलका धेरैले सम्झिने मानिस बन्दै गए उनी। उनलाई सम्झिनेले पैसा असुलिदिनसमेत अनुरोध गर्थे।
फसेको पैसा उठाउन उनी साथीहरू सँगै लिएर जान्थे। पैसा उठाइदिएबापत उनले पनि केही पाउँथे। अलिअलि पैसा आउने आश लाग्न थालेपछि उनले साहू, मालिक, हाकिमलाई कहिले कुटेर, कहिले थर्काएर, कहिले धम्क्याएर मानिसको पैसा उठाइदिन्थे। असुली गर्ने राजप्रकाशको बदमासीले हनुमानढोका पुगे। जेल सजाय भोगे।