बुधबार, जेठ २७, २०८३

‘ओपन हार्ट सर्जरी’ सफल, आमा छोरा बाँचे 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं–बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ ।  

रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया (३७ हप्ताकी गर्भवती महिला) प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको हो । आमा र छोरा दुवैको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको शल्यक्रियाको नेतृत्व गरेका डा. भट्टराइले जनाएका छन् ।  

अर्याललाई ‘टाईप ए अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी’  रोग लागेको थियो । यो एक दुर्लभ रोग भएको बताइएको छ । उक्त रोग लागेपछि विरामी बाँच्ने सम्भवना अत्यन्तै न्यून हुन्छ । 

यद्यपि मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको ९ वर्षको इतिहासमा पहिलो पटक यस्तो रोग लागेका विरामीको सफल शल्यक्रिया भएको डा. भट्टराईले जानकारी दिएका छन् । 

उनले भने, ‘बच्चा जन्मिँदा बेहोस थियो । तीन घण्टापछि उसको होस आएको छ । आमालाई पनि अहिले भेन्टिलेटरबाट छुट्याएर आईसियूमा सारिएको छ ।’
आमा र बच्चा दुवै बचाउन सफल भएकोमा खुशी व्यक्त गर्दै डा. भट्टराईले भने, ‘मेरो करिअरको १३ वर्षको इतिहासमा यस्तो दुर्लभ रोग लागेका विरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा खुशी लागेको छ ।’  

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठले पनि यस्तो दुर्लभ रोग लागेको विरामीको आफ्नो सेन्टर र यसका डाक्टरहरुले सफल शल्यक्रिया सम्पन्न गरेर आमा र छोरा बचाउन सफल भएकोमा खुशी व्यक्त गरे । 

उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराईका साथै डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी सहभागी थिए । त्यस्तै एनस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठका टिम, गाईनोकोलोजीमा डा. ज्योति शर्मा, डा. बेखा लक्ष्मी मानन्धर, डा. सुनिति रावलका टिम, बाल रोग विशेषज्ञमा भने डा. प्रदीप पौडेल र डा. कविता मानन्धर, परफ्युजन टिममा महेन्द्र भट्ट, पुर्ण मोक्तानको टिम,  नर्सिङ स्टाफहरुमा जया शर्मा, अर्चना गुरुङ लागयत रहेको जनाइएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्