सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबी बैंकको नाफा ३६.५ प्रतिशत बढ्यो, लाभांश क्षमता १३ प्रतिशत

एनएमबी बैंकको नाफा ३६.५ प्रतिशत बढ्यो, लाभांश क्षमता १३ प्रतिशत

सञ्चालक र व्यवस्थापक दुवैमा नाफा नै पहिलो प्राथमिकता हुन नहुने सोच मिलेका कारण बैंक सफलताको बाटोमा अघि बढेको एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान बताउँछन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं– एनएबी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा ३६.५३ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत आवमा ३ अर्ब ७० करोड रुपैयाँ कमाउन सफल भएको हो। एक वर्षको अवधिमा बैंकले करिब १ अर्ब रुपैयाँ खुद नाफा बढाएको छ।

National life

बैंकको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको २ अर्ब ३९ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ। नाफाबाट बैंकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ। बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट गत वर्ष लगानीकर्तालाई १२.५ प्रतिशत बोनस र करसहित नगद लाभांश ३.३ प्रतिशत गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो। 

बैंकले गत आवको असार मसान्तसम्म १ खर्ब ८४ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ६ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १५.७५ प्रतिशत बढी हो। साथै, सो अवधिमा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद संचालन आम्दानी गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ १४ पैसा र मूल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ। गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.३३ प्रतिशत, सीडी रेसियो ८७.७५ प्रतिशत, बेसरेट ९.३८ प्रतिशत र स्प्रेडरेट ४.०५ प्रतिशत छ। बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। 

पाँच वर्षमा चार अवार्ड 
एनएमबी बैंकले सन् २०१७ मा ‘बैंक अफ द इयर अवार्ड’ उचाल्यो। बेलायतको पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनले एनएमबीलाई सन् २०१७ को उत्कृष्ट नेपाली बैंक घोषणा गरेको थियो। 

Shivam cement

अवार्ड हस्तान्तरण समारोहका लागि बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लण्डनमा आयोजित कार्यक्रममा पुगेका थिए। त्यतिबेला नै अध्यक्ष गोल्यानले एक दिन एसियाको सबैभन्दा राम्रो बैंकको अवार्ड उचाल्ने सपना देखे। ‘मैले त्यो समारोहबाटै एशियाको सबैभन्दा राम्रो बैंकको अवार्ड उचाल्ने सपना देखेको थिएँ,’ अध्यक्ष गोल्यानले भने, ‘त्यहाँबाट हामीले अवार्ड मात्रै लिएनौँ। त्यहाँको बैंकिङ सेवा, अवस्था र व्यवस्था समेत देख्ने, सुन्ने र बुझ्ने मौका पायौँ। जसले नेपालमा आएर व्यवसायलाई विविधिकरण गर्दै अगाडि लैजानुपर्छ भन्ने उर्जा दिएको हो।’

एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान।
सञ्चालक र व्यवस्थापक दुवैमा नाफा नै पहिलो प्राथमिकता हुनु नहुने सोच मिल्यो। कुनै पनि संस्था प्रभावकारी रुपमा अगाडि बढ्नको लागि सञ्चालक र व्यवस्थापकको उद्देश्य र बाटोमा समानता आउनुपर्ने अध्यक्ष गोल्यान बताउँछन्। त्यसपछि एनएमबी बैंकले सोही अनुसार आफ्नो व्यापार व्यवसाय एसएमईजहरुमा केन्द्रित गराउँदै लग्यो। फलस्वरुप एनएमबी थप राम्रो बन्दै गएर पाँच वर्षको अवधिमा चार वटा बैंक अफ दि इयरको अवार्ड उचाल्न सफल भयो। बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि अवार्ड हात पार्यो।

एनएमबीको अवार्ड यात्रा यतिमै रोकिएन। विश्वभर प्रतिष्ठाको रुपमा लिइएको र नेपालमा पनि नियामकीय मान्यता प्राप्त गरेको फाइनान्सियल टाइम्सद्वारा प्रकाशित ‘द बैंकर’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने ‘बैंक अफ दि इयर एसिया–२०२१’ अवार्डबाट पनि एनएमबी सम्मानित भएको छ। एसिया अवार्ड प्राप्त गर्ने एनएमबी नै नेपालको पहिलो बैंक हो।

एसिया अवार्डमा एसिया महादेशका ४८ देशका बैंकहरु सहभागी हुन्छन्। एसियामै पनि एसिया अवार्डबाट एग्रिकल्चरल बैंक अफ चाइना, डिबीएस सिंगापुर र वुरी बैंक कोरियाजस्ता थोरै बैंक मात्र सम्मानित भएका छन्।

एसिया अवार्डले एनएमबीलाई नेपालमा मात्रै नभएर विश्वबजारमा समेत परिचित बनाउन सहयोग गर्याे। बैंक कर्पोरेट ग्राहक भन्दा पनि एसएमईजमा केन्द्रित भयो भने देशको साथसाथै विदेशमा पनि राम्रो छाप छोड्न सक्छ भन्ने देखाउन सफल भयो।

त्यसैगरी एनएमबी सिंगापुरको ‘चाल्ट्रन मिडिया ग्रुप’ ले प्रकाशित गर्दै आएको पत्रिका ‘एसियन बैंकिङ एन्ड फाइनान्स’ बाट ‘कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ अवार्ड’ विधाको ‘ग्रिन डिल अफ द इयर–२०२१’ बाट पनि सम्मानित भएको छ। भारतीय बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिसको स्वामित्वमा रहेको एजभर्बले पनि ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२१’ का लागि एनएमबीलाई ‘टु डिजिटल इनिसियटिभ’ को सम्मान दिएको छ। यसरी बैंक देश तथा विदेशमा नै उत्कृष्ट बैंकको ट्याग लगाउँदै आएको छ। 

यसरी बनेको हो वाणिज्य बैंक

सन् १९९८ मा नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका रुपमा सञ्चालनमा आएको एनएमबी २००७ मा वित्त कम्पनीबाट एकैपटक वाणिज्य बैंकमा स्तरोन्नति भएको थियो। तत्कालिन गभर्नर विजयनाथ भट्टराईलाई तत्कालिन सिइओ उपेन्द्र पौडेलले भेटेर आफूहरु वाणिज्य बैंकमा स्तरोन्नति हुन चाहेको कुरा राख्दा उनले एकैपटक दुई स्टेप पार गर्न राम्रो नहुने भनेका थिए। तर पौडेलले कसैले ५१ करोड पुँजी बनाएर वाणिज्य बैंक बन्न भन्यो भने अनुमति दिन हुने तर आफूहरुलाई एक अर्बको पुँजी पुर्याउँछु भन्दा पनि किन नदिने भनेर स्पष्ट कुरा राखेपछि गभर्नर भट्टराईले कानुन शाखासँग सल्लाह गरेर २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने शर्तमा वाणिज्य बैंकको अनुमति दिएका थिए।

बाणिज्य बैंक भएर फरक पहिचानका साथ अगाडि बढ्ने चुनौति भने एनएमबी बैंकमा थपिएको थियो। तर व्यवस्थापन र संचालकबीचको राम्रो कम्विनेसनले बैंकलाई अगाडि लैजान थप मद्दत पुग्यो।

प्रधानमन्त्री शेरबहादुर देउवाबाट अवार्ड ग्रहण गर्दै बैंकका अध्यक्ष पवन गोल्यान र सीईओ सुनिल केसी।
बैंकले विभिन्न समयमा संस्थाहरुलाई गाभ्दै पनि आइरहेको छ। सो बैंकले क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक, पाथीभरा विकास बैंक, प्रुडेन्सियल फाइनान्स, ओम डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकलाई गाभेको छ। 

अध्यक्ष गोल्यान बैंकले स–साना उद्यमी जन्माउनका लागि लगानी गरिरहेको बताउँछन्। उनले राष्ट्र बैंकको पछिल्लो नीति अनुसार कृषि, ऊर्जा, साना तथा मझौला उद्यम व्यवसाय लगायतमा एनएमबीको लगानीको प्रमुख क्षेत्र रहेको बताए। 

सुरुवाती अवस्थामा एनएमबी बैंक पनि ठूला र कर्पोरेट ऋणीहरुमै केन्द्रित थियो। ठूला उद्योगी–व्यावसायीलाई धेरै ऋण लगानी गर्ने एनएमबी बैंकको अवस्था अहिले भने फरक रहेको गोल्यान बताउँछन्। उनले भने ‘अहिले हामी स–साना कृषि कर्जा, साना उद्यम व्यवसायमा फोकस गरिरहेका छौँ।’ 

प्रकाशित: Aug 11, 2022| 14:37 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्