काठमाडौं– हिमालय एअरलाइन्सले चीनको छिङदाओ (सिङ्ताओ) का लागि चार्टर्ड उडान गरेको छ। एयरलाइन्सले मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि चीनको छिङदाओ जाने एक विशेष कूटनीतिक चार्टर्ड उडान गरेको हो।
परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ११ः७ बजे उडान गरेको थियो।
छिङदाओको दुई दिने औपचारिक भ्रमणपछि बिहीबार अपरान्ह्र ३ बजे उक्त चार्टर्ड विमान काठमाडौंका लागि उड्ने एयरलाइन्सले जनाएको छ। काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान गरेको हो।