काठमाडौं– वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगिया बस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेट सुनिश्चित भएपछि मात्रै रुख काट्न अनुमति दिइने बताएका छन्। सामुदायिक वन दिवस २०७९ अवसरमा बुधबार राजधानीमा आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।
मन्त्री यादवले व्यक्तिगत रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेका जग्गा खाली नहुँदासम्म र बजेट सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिइने बताएको उनको सचिवालयले जनाएको छ।
मन्त्री यादवले भने, ‘विमानस्थल निर्माणका नाममा वन विनास गर्न दिइने छैन। सम्मानित अदालतलाई म धन्यवाद दिन चाहन्छु। रुख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने। यस्तो षडयन्त्र हुन दिन्नँ।’
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मन्त्रालय सधैं सकारात्मक रहेकाले सबैभन्दा पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको करिब ५०० हेक्टर जमिन खाली हुनुपर्ने तथा विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता हुनुपर्ने मन्त्रालयको माग रहेको मन्त्री यादवले बताए। उनले भने, ‘मुआब्जा पाइसकेको जमिन खाली गरियोस्। विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रुख कटान गर्न मन्त्रालय अनुमति दिन तयार छ।’ यसैगरी मन्त्री यादवले वन माफियालाई तह लगाउन आफू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा मन्त्री यादवले सामुदायिक वनका क्रियाकलापले नेपालको वनजंगल क्षेत्रमा उल्लेख्य वृद्धि हुनाका साथै वनको विकासमा ठूलो योगदान पुगेको बताए। मन्त्री यादवले वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा आधारित साझेदारी वन, कबुलियती वन, निजी वनले गरेका राम्रा कामका कारण अहिले वन तथा वातावरण मन्त्रालय गालीको ठाउँमा ताली खाने मन्त्रालय भएको सुनाए।
उनले भने, ‘वन कर्मचारी तथा विभिन्न सामुदायिक वनको जग्गा–जमिन संरक्षण गर्नुका साथै वनजंगल जोगाउन ठूलो योगदान दिनुभएको छ। यसै कारण देशमा हरियालीे छ।’