काठमाडौं– सेयर खरिद–बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। जसका कारण सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज हुने भएको छ।
कम्पनीका अनुसार हाल यो सेवा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन। लगानीकर्ताले मोबाइल मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन्। साथै नजिकैको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सकिनेछ।
यो व्यवस्थासँगै लगानीकर्तालाई रकम भुक्तानीकै लागि ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्नेछ। यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुवैलाई सहज हुनेछ। इसेवाका लगानीकर्ताले इसेवामा रहेको टीएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ। त्यसपछि कोल्याट्रल अर्थात आफूले तिर्ने रकम उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिने इसेवाले जनाएको छ।