सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दरबारमार्ग र न्यूरोडलगायत क्षेत्रमा जग्गा पाउनै मुस्किल, मालपोतले तोक्यो प्रतिआना ६६ लाख

दरबारमार्ग र न्यूरोडलगायत क्षेत्रमा जग्गा पाउनै मुस्किल, मालपोतले तोक्यो प्रतिआना ६६ लाख

सहरी क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा भने नयाँ सडक, ठमेल, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क, जमललगायत क्षेत्रका रहेका छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं– चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ। बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएका छन्। मुख्य सहरको रूपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायत स्थानमा जग्गा भेटिनै मुस्किल छ।

National life

मालपोत कार्यालयले भने ती स्थानको पनि जग्गाको न्यूनतम मूल्यांकन गर्ने गरेका छन्। भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले चालू आवका लागि मुख्य सहरी क्षेत्रभित्रका जग्गाको न्यूनतम मूल्यांकनको विवरण सार्वजनिक गरेको छ।

डिल्लीबजार मालपोत कार्यालयकै क्षेत्रभित्र पर्ने दरबारमार्ग, नयाँ सडक बानेश्वरलगायतका क्षेत्रको जग्गाको सरकारी मूल्यांकन के कति होला भन्ने मानिसमा चासो रहन सक्छ। त्यसमाथि काठमाडौं उपत्यकाभित्रको सबैभन्दा महँगो मानिएको क्षेत्र कहाँ होला भन्ने जिज्ञासा पनि स्वाभाविक रूपमा रहन सक्छ। काठमाडौं उपत्यकाभित्र ९ वटा मालपोत कार्यालय छन्। तीमध्ये ६ वटा मालपोत कार्यालय काठमाडौंमै छन्। तीमध्ये सहरी क्षेत्रभित्र कार्यक्षेत्र रहेको मालपोतमा डिल्लीबजार मालपोत कार्यालय पर्छ।

नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै हरेक मालपोत कार्यालयले आ–आफ्नो कार्यक्षेत्रभित्रका जग्गाको न्यूनतम मूल्यांकनसम्बन्धी विवरण सार्वजनिक गर्छन्। मालपोत ऐन, २०३४ अनुसार डिल्लीबजारको कार्यक्षेत्रमा रजिस्टे«सन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि जग्गाको न्यूनतम मूल्यांकन समितिले न्यूनतम मूल्यांकन गरेको हो।

सरकारी निकायबाट भएको मूल्यांकनभन्दा बजारमा कारोबार भने दसौं गुणा बढीमा हुने गरेको छ। सहरी क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा भने नयाँ सडक, ठमेल, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क, जमललगायत क्षेत्रका जग्गा रहेका छन्। मालपोत कार्यालयले तय गरेको मूल्यांकनअनुसार हनुमानढोका पूर्वनयाँसडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, नयाँसडक पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पीश्चम पुरानो नगरपालिका भवन चोकसम्म, नयाँ सडक खिचापोखरी, धरहरासम्मको मूल सडकमा जोडिएका जग्गाको प्रतिआना मूल्यांकन मात्रै ६६ लाख बराबर तोकिएको छ।

Shivam cement

यस्तै, केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गा, हनुमानढोका जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल, राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्वविश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटो जोडिएका महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूल सडकको दायाँबायाँ क्षेत्रका जग्गाको सरकारी मूल्यांकन पनि प्रतिआना ६६ लाख बराबर नै तोकिएको छ।

माइतीघर–सिंहदरबार पश्चिम गेट–पुतलीसडक कृष्ण पाउरोटी हात्तीसार, जयनेपाल कान्तिपथ, जमल दरबारमार्ग र घन्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना ६६ लाख रहने गरी प्रस्तावित गरिएको छ।

जमल रानीपोखरी, वीर अस्पताल, नेपाल वायु सेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना ६६ लाख नै न्यूनतम मूल्यांकन तोकिएको छ। रत्नपार्क, पुरानो बसपार्क, शहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिम गेट हुँदै भद्रकालीसम्मका मूल बाटोमा जोडिएका जग्गाको दायाँबायाँ पनि प्रतिआना ६६ लाख नै न्यूनतम मूल्यांकन हुने गरी निर्धारण गरिएको छ।

चःमती जग्गा एकीकरण आयोजनाको मूल सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना २८ लाख ६० हजार, नयाँ बजार नगर विकास आयोजनाका जग्गाको प्रतिआना २६ लाख ४० हजार बराबर तोकिएको छ। –रासस

प्रकाशित: Aug 08, 2022| 16:32 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्