काठमाडौं– सार्वजनिक यातायातले यात्रुसँग आफूखुसी भाडा असुलेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। समिति सभापति कल्याणीकुमारी खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएकाले अनुगमन गरेर कारबाही गर्न सरकारलाई निर्देशन दिएकी हुन्।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायातमन्त्रीसँगको छलफल गरेको छ।
बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारीसाधनले यात्रुबाट सरकारले तोकेभन्दा बढी भाडा लिँदै आएको देखिएकाले सरकारलाई कारबाही गर्न भनिएको बताइन्। उनले अतिक्रमण गरी सडक सीमाभित्र बनाइएका घर टहरातत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन्। सभापति खड्काले बाढीपहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिइन्।
उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडक निर्माण तथा स्तरोन्नतिको काममा भइरहेको ढिलासुस्ती र न्यून कार्यप्रगतिलाई ध्यानमा राखेर निर्माणाधीन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तरोन्नतिको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइन्। उनले भनिन्, ‘अतिक्रमण गरी सडक सीमाभित्र बनाइएका घरटहरा हटाउन तथा देशका मुख्य सडकमा बाढीपहिरोका कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ।’
वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालीन समाधानसहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानुन ल्याउन सभापति खड्काले सरकारलाई निर्देशन दिइन्।