काठमाडौं– भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ। योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिने उसले जनाएको छ।
इसेवाले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार ग्राहकहरुले इसेवा एप मार्फत नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्नेछन्। इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ।
इसेवाले अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ। इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ। इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ। हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भए पनि केही दिनमा आइओएसमा समेत उपलब्ध हुने इसेवाले जनाएको छ।
इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार होटलको सेवा सुरुवात गरेको बताए। ‘यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौँ,’ विष्टले भने, ‘साथै कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ। भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरी अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ।’