काठमाडौं- कास्कीको पोखरामा एटीएम फोडेर नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। एटीएम फोडेर जेल गएका पर्वतको कुश्मा नगरपालिका–३ का २३ वर्षीय कृष्णबहादुर विक छुटेपछि पनि एटीएम फोड्दै गर्दा पक्राउ परेका हुन्।
कास्की प्रहरीले एनआईसी एसिया बैंकको एटीएम फोडेर नगद चोर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो। उनले पोखरा महानगरपालिका १७ बिरौटामा रहेको एनआईसी एसिया बैंकको एटीएम मेशिन फोरेर नगद चोर्ने तयारी गरेको प्रहरीको दाबी छ। एटीएम मेशिन फोर्दै गरेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।
उनीविरुद्ध ७ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। कृष्ण बहादुर यसअघि पनि यही कसुरमा पक्राउ परेर जेल परेका थिए। तर त्यतिबेलाको कैद भुक्तान गरिसकेपछि पनि पुनः सोही अपराधमा संलग्न भएको पाइएको हो।
यसभन्दा अगाडि माछापुच्छ्रे बैंकको एटीएम मेशिन फोड्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो। उक्त कसुरमा जिल्ला अदालत कास्कीले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर, अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि उनी पुर्पक्षका लागि थुनामा परेका थिए। पछि अदालतले तोकेको कैद भुक्तान गरेर उनी छुटेका थिए। छुटेपछि पुनः पहिलेकै कसुरमा पक्राउ परेका हुन्।