काठमाडौं- आर्थिक वर्ष २०७९-८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरियो। सरकारले १५ प्रतिशत मात्रै तलब वृद्धि गरे पनि निजामती सेवाका शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरुको भने २४ प्रतिशतसम्म तलब वृद्धि हुने भएको छ।
सरकारले जेठ १५ गते गरेको बजेट भाषणका क्रममा सम्पूर्ण सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो। उक्त वृद्धि भएको तलब पाउने समय हुन लागेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीहरूको तलव २४ प्रतिशतसम्म बढाउने प्रस्ताव मन्त्रिपरिषद् पठाउने तयारी गरिएको हो।
बजेटमा भनेअनुसार १५ प्रतिशत मात्रै वृद्धि गरेर तलब वृद्धिका लागि अर्थले स्वीकृति दिइसकेको अवस्थामा संसदीय समितिमार्फत चलखेल गरेर तलबको नयाँ रोष्टर स्वीकृत गराइएको हो। कर्मचारीहरुले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन हुँदा बजेट भाषणमा उल्लेख भए भन्दा बढी तलब वृद्धि गर्न अर्थ मन्त्रालय तयार भएको बताइएको छ।
अघिल्लो महिनासम्म ३७ हजार ९९० तलब पाएका अधिकृतहरुले साउन महिनाबाट ४७ हजार २ सय ८ रुपैयाँ तलब पाउने गरी प्रस्ताव तयार गरिएको छ। जबकि १५ प्रतिशतले मात्रै बढ्दा उनीहरुले ४३ हजार ६८९ तलब प्राप्त गर्थे। यस हिसाबले अधिकृतको तलब २४ प्रतिशतले वृद्धि भएको छ। अधिकृतहरुले थप ३५ सय १९ रुपैयाँ तलब पाउनेछन्।
त्यस्तै उपसचिवको तलब २३.३ प्रतिशतले वृद्धि भएर ५२ दुई सय ७९ पुग्नेछ। जबकि बजेट भाषणमा भनेअनुसार मात्रै तलब वृद्धि भएको भएको उपसचिवले ४८ हजार ७ ३७ रुपैयाँ पाउने थिए। सहसचिवको तलब पनि ४९ हजार ३८० बाट बढेर ६१ हजार ०५० पुग्नेछ। १५ बढ्दा ५६ हजार ७७८ तलब पाउने सहसचिवहरुले अब २३.६ प्रतिशत बढी पाउने छन्।
त्यसैगरी सचिवको तलब पनि यो वर्ष ११ हजार पाँच सय ४१ ले वृद्धि भएको छ। ६२ हजार १४० तलब पाउँदै आएका सचिवहरुले १५ प्रतिशत बढ्दा ७२ हजार ८२ रुपैयाँ पाउने भए पनि अब १८.४ प्रतिशतले वृद्धि हुँदा ७४ हजार २२१ पाउने भएका छन्।