शनिबार, वैशाख ८, २०८१

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।
 |  आइतबार, साउन २२, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, साउन २२, २०७९

विराटनगर– 'हर्क साम्पाङ अ रिभ्योलुसन'। फेसबुक पेजमा यही नामबाट परिचित छन् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ।

triton college

गत वैशाख ३० अघिसम्म समाजका हरेक गतिविधिलाई नेतृत्व गर्ने काम उनले गर्दै आए। स्थानीय तहको निर्वाचनमा स्थापित राजनीतिक दललाई पाखा लगाउँदै उनै हर्क साम्पाङ धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगे। पटक–पटक राजनीतिक दलका नेताहरुलाई जिताउँदै आएका धराने जनताले यसपटक क्रान्तिकारी स्वाभावका साम्पाङका एजेन्डालाई साथ दिए। 

साम्पाङ धरानको नेतृत्वमा पुगेको ४ महिना हुनै लागेको छ। ५ वर्षे कार्यकालको ४ महिना बित्नै लाग्दा उनीबाट आशा गरेकाहरु नै निराश बन्न थालेका छन्। अपेक्षित रुपमा उनी अघि बढ्न नसकेको धरानबासी बताउन थालिसकेका छन्। उनका गतिविधिबाट पनि त्यो देखिन थालेको छ।

जसको नेतृत्व लिए, उनैलाई चिढ्याए

धरानमा अहिले बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता तथा सेयरधनी आन्दोलित छन्। उनीहरुले बचत गरेको पैसा निकाल्न पाएका छैनन्। उनीहरुको आन्दोलनले धरानलाई तताइरहेको छ। बराह सहकारीका बचतकर्ता तथा सेयरधनीको आन्दोलन यो पहिलो पटक भएको भने होइन। यसअघि पनि हुँदै आएको थियो। पहिलेको आन्दोलनको नेतृत्व उनै हर्क साम्पाङले गरेका थिए। 

corrent noodles
Metro Mart

४ महिनापछि बराह सहकारीका सदस्य पुनः आन्दोलित भएका हुन्। यसअघिको आन्दोलनका साथ दिएका उनै साम्पाङ अहिले मेयर भएकाले उनीहरुले धेरै आश उनीमाथि राखे। तर, साम्पाङले उनीहरुलाई साथ दिनुको सट्टा ‘सहकारीमा पैसा दिने बेलामा मलाई सोधेर दिनु भएको थियो?’ भनेर जवाफ फर्काउँदा उनीमाथि नै पीडितहरु जाइलागेका छन्। उनको राजीनामा मागियो, उनीविरुद्ध मुर्दावादका नारा लागे। उनको कार्यकक्ष फोडियो। अन्नतः उनी सुरक्षा माग्न प्रहरीकहाँ पुग्नुपर्यो। उनको यो गतिविधिलाई धराने जनताले पटक्कै रुचाएका छैनन्।

उनले धरातल भुल्दै गएको आरोप उनीमाथि लाग्न थालेको छ। जनताको सेवक हुँ भन्ने गरेका साम्पाङ शासक भएको अनुभूति भएको बराह सहकारीका पीडित एक बचतकर्ताले सुनाए। उनले भने, ‘मेयर हुनुअघि खानेपानीको विषयलाई लिएर उनी धरान उपमहानगरपालिकामा दैनिक घेराउ तथा आन्दोलन गर्न पुग्थे। आन्दोलनमा रोक्न खोज्दा गेट नाघेरै भए पनि उनी पालिका परिसरमा छिरेर आफ्नो उपस्थिति देखाउँथे। हाम्रो आन्दोलनलाई पनि उत्तिकै साथ दिएका थिए। पहिलेका सम्पाङ सम्झेर उनले न्याय गर्लान् भनेर गएका थियौं, उनको रुखो बोलीव्यवहार देखेर हामी त झनै पीडित भएका छौं।’

अपरिपक्व व्यवहार
मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्। उनी मर्यादा विपरीत प्रस्तुत हुँदा उनलाई राम्रो भन्नेहरु नै असहज लाग्ने गरेको बताउँछन्। यसका लागि उनको फेसबुक पेज नै पर्याप्त छ। 

साम्पाङ मेयरमा निर्वाचित भएपछि ५ वटा कार्यपालिका बैठक बसेका छन्। हरेक बैठकअघि उनी सामाजिक सञ्जालमा एजेन्डाहरु लेख्ने गर्छन्। तर, एजेन्डालाई कसरी बैठकमा प्रस्तुत गर्ने भन्ने सामान्य ज्ञान पनि उनमा नभएको एक कार्यपालिका सदस्यले बताए। रहेक बैठकमा सामान्य एजेन्डा लिएर उनी आउने गरेको बताइएको छ। सामान्य एजेन्डाहरु सहजै पास पनि हुने गरेको कार्यपालिका सदस्यको भनाइ छ। मेयरलाई कार्यपालिकाका कुनै पनि सदस्यले बाइपास नगरेको उनको भनाइ छ। उनले भने, ‘धरानको कार्यपालिका बैठक लाइभ गर्ने गरिएको छ। हेर्दा पनि हुन्छ, उहाँलाई असहयोग कसैबाट भएको छैन।’ मेयरमा परिपक्वता नहुँदा समस्या भएको उनको तर्क छ। राजनीतिक रुपमा प्रभाव पार्ने खालका एजेन्डा ल्याउनुअघि सामान्य छलफल पनि नगर्ने परिपाटीको भने विरोध हुने गरेको उनले सुनाए।

राजनीतिक प्रभाव पार्ने खालका एजेन्डा धेरैजसो उपप्रमुखले ल्याउने गरेको कार्यपालिका सदस्यहरु बताउँछन्। राजनीतिक रुपमा प्रभाव पार्ने र विकाससँग प्रत्यक्ष जोडिएका योजना उपमेयरको चाहनामा आउने उनीहरुको दाबी छ। राजनीतिक रुपमा प्रभाव पार्ने योजनाबारे मेयर राईले कार्यपालिकामा रहेका कुनै पनि दलसँग सामान्य पनि परामर्श नगर्ने गरेको उनले बताए। 

मेयर राईले राजनीतिक दललाई पूरै नकारात्मक रुपमा हेर्ने गरेको स्थानीय एमाले नेता रवि खनालले बताए। धरानमा राजनीतिक दलहरु समाप्त पार्ने भन्दै सामाजिक सञ्जालमा लेख्ने गरेको उनले बताए। खनालले भने, ‘दले, झोले भन्दै दललाई चिढ्याउने काम उनले गरिरहेका छन्।’ राजनीतिक दल र दलिय व्यवस्थाप्रति मेयर राई नकारात्मक रहेको उनका गतिविधिबाट देखिने गरेको उनले बताए। उनमा केटाकेटीपन देखिने गरेको खनालको पनि तर्क छ। फेसबुकबाट धरानको मेयरमा उदाएका राई फेसबुकबाटै सकिने बाटोमा लागेको टिप्पणी खनालले गरे। उनका अनुसार मेयर साम्पाङ जति विश्वास गर्न योग्य छन्, त्यति उनको बोलीमा देखिँदैन।

एमालेसँग दूरी बढाउँदै
धरान उपमहानगरको कार्यपालिकामा एमालेको बहुमत छ। एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुको साथ लिँदा उनलाई नगरमा सहज छ। तर, पछिल्लो समय उनी एमाले विरुद्ध लागेका छन्। बराह सहकारीका पीडितहरुले एमालेको इसारामा कार्यकक्ष तोडफोड गरेको आरोप मेयर राईले लगाएका छन्।

उनले एमाले नेतृ तथा धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारीको फेक फेसबुक आईडीमा धरानको सामाजिक सद्भाव खलल पुग्ने गरी जातिय द्वन्द्व निम्त्याउने किसिमको विषयवस्तु सेयर गर्दै पोस्ट गरेपछि उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्। पछिल्लो घटनाक्रमकै कारण शुक्रबारको बैठक एमालेले बहिस्कार गरेको थियो। मेयरकै कारण कार्यपालिका बैठक सहज रुपमा अघि बढ्न नसकेको एमाले आरोप लगाउँदै आएको छ। 

सादगी जीवन र भ्रष्टाचार विरोधी गतिविधि
मेयर साम्पाङलाई आम सर्वसाधारणले बुझ्ने भनेको उनको जीवन सादगी छ। नगर प्रमुख भए पनि खानेपानीका लागि श्रमिक सरह दिनभरी खटिने गरेका छन्। हरेक शनिबार उनले पानीका लागि श्रमदान गर्दै आएका छन्। नगर प्रमुख भएबापत पाउने सुविधाहरु खासै प्रयोग गरेका छैनन्। सवारी सुविधा पनि उनले लिएनन्। मोटरसाइकल प्रयोग गर्दै आएका छन्।

उनले भ्रष्टाचार गर्दिन, यदि गरेको पाइएमा धरान बस्ने छैन भन्ने भनाइलाई कार्यकालको शुरुवातमा पुष्टि गर्न खोजेको देखिन्छ। उनको सादगी जीवन र भ्रष्टाचार विरोधी अभियानको भने सबैले प्रशंसा गर्ने गरेका छन्।

प्रकाशित: Aug 07, 2022| 12:46 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।