मंगलबार, जेठ २६, २०८३

२२० केभीका ३ वटा सबस्टेसन एकै दिन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलोभोल्ट (केभी)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलोभोल्ट (केभी)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ। प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा, संखुवासभाको तुम्लिङटार र बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो।

National life

२२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमश : २६० एमभीए र ६० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन्। साथै कोशी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि प्रदेश नम्बर १का पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए। २२० केभी प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ।

‘मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहवी सबस्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहवी सबस्टेसनको लोड इनरुवा सबस्टेसनमा सार्न सकिने भएकोले उद्योगहरुलाई थप विद्युत् दिन सकिन्छ साथै भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ’, घिसिङले भने। संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका आयोजनाहरुकाे विद्युत्‌मा पनि ट्रिपिङ हुने समस्या थियो, अब त्यो समस्या पनि समाधान हुने प्राधिकरणले जनाएको छ। 'कोशी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेसनमार्फत भारततर्फ समेत निर्यात गर्न सकिने छ’ घिसिङले भने

नेपाल सरकारको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको निर्माण गरिएको हो। त्यस्तै नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङटार, बसन्तपुर र बानेश्वरमा सबस्टेसन तथा प्रसारण लाइनको निर्माण गरिएको हो।

Shivam cement

सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सबस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन्। इनरुवा सबस्टेसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ। ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्ने प्राधिकरणको भनाइ छ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ। कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सबस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताए। कोशी करिडोरको २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एक तर्फ मात्र तार तानिएको छ। अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकले दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ।

कोशी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसााघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ। अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत्‌लाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो। एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो। प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ।

प्रकाशित: Aug 05, 2022| 14:28 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्