आइतबार, असोज १४, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • उकासिँदै पर्यटन, नेपाल घुमफिरमा आउन थाले दैनिक १३ सय बढी पर्यटक

उकासिँदै पर्यटन, नेपाल घुमफिरमा आउन थाले दैनिक १३ सय बढी पर्यटक

कोरोना महामारीले थलिएको पर्यटन कोभिड पहिलाकै लयमा आउन थालेको छ। पर्यटन बोर्डका अनुसार पछिल्लो समय दैनिक साढे १३०० बढी पर्यटक नेपाल भित्रिन थालेका हुन्।
 |  शुक्रबार, साउन २०, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– कोरोना महामारीले थलिएको पर्यटन कोभिड पहिलाकै लयमा आउन थालेको छ। पर्यटन बोर्डका अनुसार पछिल्लो समय दैनिक साढे १३०० बढी पर्यटक नेपाल भित्रिन थालेका हुन्।

sagarmatha cement

यद्यपि कोभिड सुरु हुनुअघि दैनिक करिब ३ हजारको संख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गर्थे। सन् २०२२ को जुलाईमा मात्रै ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका छन् । यससहित सन् २०२२ को ७ महिने अवधिमा २ लाख ८५ हजार ३६३ जना पर्यटक नेपाल आएका छन्। तथ्यांकअनुसार दैनिक पर्यटक आगमन औसतमा १,३५९ जना पुगेको हो।

कोरोना महामारी आउनुअघि सन् २०१९ को जुलाईमा मात्र ५८ हजार ८११ पर्यटक नेपाल भित्रिएका थिए। सोही आर्थिक वर्षको ७ महिने अवधिमा ६ लाख १२ हजार ७६४ जना पर्यटक आएका थिए। तथ्यांकअनुसार उक्त वर्ष दैनिक पर्यटक आगमन औसतमा २,९१८ थियो। 

बोर्डका निर्देशक मणिराज लामिछानेले अहिले नेपाल भित्रिने पर्यटकको आगमनमा  ७६ प्रतिशतले सुधार बताए। उनका अनुसार पर्यटक आगमन दर प्रतिदिन बढ्दो क्रममा छ। पर्यटक आगमन बढाउन गरिएको प्रचार–प्रसारका कार्यक्रमले पनि थप सहयोग पुगेको उनको बुझाइ छ। 

उनले भने, ‘नेपालमा पर्यटक आगमन बढाउन केही दिनअघि मात्रै ७३ बुँदे कार्ययोजना अघि बढाएका छौं। कार्ययोजनालाई पूर्णता दिन सके पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउने मान नभई नयाँ रेकर्ड कायम गर्न सकिन्छ।’

सबैभन्दा बढी भारतीय पर्यटक 
जुलाईमा भारतीय पर्यटकको संख्या १७ हजार २९९ रहेको छ, जुन जुलाईमा भित्रिएका कुल पर्यटकको ३३.९ प्रतिशत हिस्सा हो। यो हवाई मार्ग भएर आउने पर्यटकको संख्या हो। भारतबाट स्थल मार्गबाट आउने पर्यटक पनि उत्तिकै संख्याका हुने निर्देशक लामिछानेले बताए।

‘पैदल तथा सवारी साधनमा आउनेको यकिन तथ्यांक छैन तर भारतबाट सीमानाका हुँदै आउने पर्यटक उत्तिकै हुन्छन्। भारतमा यतिबेला अत्यधिक गर्मी बढेको र कोभिड संक्रमण पनि कम भएका कारण भारतीय पर्यटकको आकर्षण नेपाल रहेको हो। 

भारतपछि नेपालमा आउने सबैभन्दा बढी पर्यटक अमेरिकी रहेका छन्। जुलाईमा ५ हजार २२८ पर्यटक अमेरिकाबाट नेपाल भित्रिएका हुन्। त्यसपछि बेलायतबाट जुलाईमा मात्रै ३ हजार ९५३ र बंगलादेशबाट १ हजार ८७४ पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ। 

बढ्दै चिनियाँ पर्यटक
जुलाईमा मात्रै चीनबाट १ हजार ५९३ पर्यटक नेपाल आएका छन्। कोभिड महामारी उत्पत्ति स्थल चीनको वुहान हो। चीनकै पर्यटक आगमन दर बढ्दो देखिनु पर्यटन क्षेत्र पुरानै लयमा फर्कने संकेत हो।

चीन सरकारले कोभिडपछि अझै आफ्ना नागरिकलाई घुमफिरमा निस्कन अनुमति दिएको छैन। यस्तो अवस्थामा पनि नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुकको पाँचौं नम्बरमा चीन रहेको छ। 

जुलाईमा दक्षिण एसिया (सार्क) मुलुकबाट १९ हजार ९८० जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले तथ्यांक सार्वजनिक गरेको छ। 

प्रकाशित: Aug 05, 2022| 15:35 शुक्रबार, साउन २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्