शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आयल निगमले भन्‍यो- ऋण तिर्न बाँकी छ, इन्धनको मूल्य घट्दैन

आयल निगमले भन्‍यो- ऋण तिर्न बाँकी छ, इन्धनको मूल्य घट्दैन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ। 

निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरकारबाट लिएको ऋण र इन्डियन आयल कर्पोरेशन (आइओसी) लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो। 

आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर नौ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो। निगमलाई मट्टितेल र हवाई इन्धनमा भने यसअघि नै नाफा रहेको छ। 

पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक रु एक अर्ब २७ करोड घाटा हुने निगमको प्रक्षेपण छ। सरकारसँग लिइएको ऋण, आइओसीलाई तिर्नुपर्ने बक्यौता तथा मासिक एक अर्ब बढी घाटा भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत नै राख्नुपरेको उनले बताए। 

निगमले आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम अपुग भएपछि सरकारसँग रु सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट रु तीन अर्ब ऋण लिएको थियो। निगमले अझै आइओसीलाई रु २३ अर्ब भुक्तानी गर्न बाँकी छ। 

प्रकाशित: Aug 03, 2022| 22:11 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्