काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुलुकभरका सबै भन्सार नाकाबाट आयातीत फलफूल र तरकारीमा विषादी परीक्षण सुरु भएको बताएको छ।आर्थिक वर्षको पहिलो महिनादेखि थप ९ वटा कार्यालयमार्फत विषादी परीक्षण थालिएको विभागले जानकारी दिएको हो।
यसअघि ७ वटा नाकामा सीमित परीक्षण साउनदेखि थप ९ ठाउँमा थपिएको विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन्। त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्गाचौकी, चोभार सुक्खा बन्दरगाह, सुख्खा बन्दरगाहा सिर्सियामा यस्तो सुविधा थपिएको उनको भनाइ छ।
हाल काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै जाँच हुने गरेको छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा पनि उपकरणसहितको जनशक्ति उपलब्ध गराइन थालेको विभागले जनाएको छ।