शनिबार, असोज १०, २०८३

घरजग्गा धितोमा कर्जामा राष्ट्र बैंकको कडाइ

निश्चित प्रयोजन नखुलेका विभिन्न प्रकृतिको कर्जामा ‘लोन टु भ्यालु रेसियो’ उपत्यकाभित्र धितोको ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत रकम मात्र कर्जा प्रवाह गर्न मिल्ने भएको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– घरजग्गा धितो राखेर लिने प्रयोजन नखुलेको कर्जामा राष्ट्र बैंकले कडाइ गरेको छ। मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरिएको एकीकृत निर्देशनअनुसार प्रयोजन नखुलेको कर्जा जस्तै, अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जालगायतमा घरजग्गा धितो राखी कर्जा प्रवाह हुने गरेको छ । 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले निश्चित प्रयोजन नखुलेका विभिन्न प्रकृतिको कर्जामा ‘लोन टु भ्यालु रेसियो’ उपत्यकाभित्र धितोको ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा धितोको ४० प्रतिशत रकम मात्र कर्जा प्रवाह गर्न मिल्ने व्यवस्था गरेको हो। 

यसअघि यस्तो कर्जा अनुपात उपत्यकाको हकमा ४० र उपत्यकाबाहिरको हकमा ५० प्रतिशत थियो। यो व्यवस्था बैंक तथा वित्तीय संस्थाहरूले नयाँ कर्जा प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा अपनाउनुपर्नेछ। 

बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर प्रयोजन नखुलेको कर्जा प्रवाह गर्दा यस्तो कर्जा आयात र अनुत्पादक क्षेत्रमा बढी लगानी भएको राष्ट्र बैंकको बुझाइ छ। 

त्यसैले आयात रोक्न र उत्पादनशील क्षेत्रमा लगानी बढाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Aug 03, 2022| 13:59 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्